ताप्लेजुङ, मङ्सिर १२ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भई फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
डाँका, अभद्र व्यवहार, सरकारी कागज किर्ते, बैंकिङ कसुर र जबरजस्ती करणी मुद्दामा सजाय तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार पक्राउ पर्नेमा डाँका मुद्दामा सांकेतिक नाम (ङ), अभद्र व्यवहार मुद्दामा मेरिङ्देन गाउँपालिका–६ का मिलन र धनबहादुर भन्ने फुर्वा शेर्पा, सरकारी कागज किर्ते तथा बैंकिङ कसुर मुद्दामा सिरिजङ्घा गाउँपालिका–७ की सुनीता लिम्बू र जबरजस्ती करणी मुद्दामा हाङ्देवा–७ का ज्वाई भन्ने पूर्णकुमार हेल्लोक लिम्बू रहेका छन् ।
प्रहरीका अनुसार सांकेतिक नाम (ङ) र फुर्वा शेर्पालाई गत सोमबार ताप्लेजुङबाट पक्राउ गरिएको हो । डाँका मुद्दामा सांकेतिक नाम (ङ) लाई छ हजार ६६७ रुपियाँ जरिवाना तथा शेर्पालाई २२ दिन कैद र २० हजार रुपियाँ जरिवाना भुक्तान गर्न अदालतले फैसला गरेको थियो ।
त्यसैगरी, सरकारी कागज किर्ते र बैंकिङ कसुरका दुई छुट्टाछुट्टै मुद्दामा फरार रहेकी सुनीता लिम्बूलाई मङ्गलबार झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिम्बूले सरकारी कागज किर्ते मुद्दामा एक वर्ष कैद र ६६ हजार ६६७ रुपियाँ तथा बैंकिङ कसुर मुद्दामा एक वर्ष कैद र ७९ हजार ३४७ रुपियाँ ५० पैसा जरिवाना भुक्तान गर्न बाँकी रहेको छ ।
जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय फैसला भई फरार रहेका पूर्णकुमार हेल्लोक लिम्बूलाई पनि बिहीबार झापाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।






प्रतिक्रिया