ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा आगलागीबाट प्रभावित १६ परिवारलाई ख्रीष्टियन लिम्बु समाज ताप्लेजुङले न्यानो सिरक वितरण गरेको छ । ख्रीष्टियन लिम्बु समाज ताप्लेजुङका अध्यक्ष पत्रुस मादेनका अनुसार गत असोज ८ गते दोभान बजारमा भएको आगलागीबाट घर तथा धनमाल गुमाएका परिवारलाई समाजले सिरकका दुई–दुई सेट वितरण गरेको हो ।

चिसो मौसम सुरु हुन थालेको अवस्थामा पीडित परिवारलाई राहतस्वरूप सिरक प्रदान गरिएको जनाइएको छ । ख्रीष्टियन लिम्बु समाज फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष मनकुमार लिम्बू, मेरिङदेन गाउँपालिकाका सचिव नायारण लिम्बू र मेरिङदेन गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गाम (डम्बर) को उपस्थितिमा सिरक वितरण गरिएको हो ।
यसैगरी, इसाई समाज ताप्लेजुङले पनि गत कात्तिक १ गते आगलागीपीडित परिवारका लागि तीन लाख ७५ हजार रुपियाँ आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । आगलागीबाट प्रभावित परिवारले दुःखको समयमा विभिन्न व्यक्ति, राजनीतिक दल, सङ्घसंस्था तथा समाजसेवीबाट आर्थिक, भौतिक र नैतिक सहयोग प्राप्त भइरहेको जनाएका छन् ।

सहयोगी सबैप्रति आभार व्यक्त गर्दै पीडित परिवारले प्राप्त सहयोगले कठिन परिस्थितिमा ठूलो हौसला र आशा मिलेको बताएका छन् । गत असोज ८ गते दोभान बजारमा भएको आगलागीमा १० घर पूर्ण रूपमा क्षति हुँदा १६ परिवार विस्थापित भएका थिए । आगलागीबाट करोडौँ रुपियाँ बराबरको धनमाल नष्ट भएको थियो ।
आगलागीपछि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउँदै आएका छन् ।






प्रतिक्रिया