ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको रेलिङबाट लडेर एक जना घाइते हुनुभएको छ ।
घाइते हुनेमा फुङलिङ नगरपालिका–६ उकालीपानी निवासी ५० वर्षीय हर्कबहादुर गुरुङ रहनुभएको छ । उहाँ बिहीबार दिउँसो करिब २ः३० बजे फुङलिङ नगरपालिका–२ कञ्चनजङ्घा टोलस्थित दाजु यसबहादुर गुरुङको घरको रेलिङमा खुट्टा चिप्लिएर लड्दा घाइते हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार लडेर घाइते भएका गुरुङलाई उपचारका लागि दिउँसो ४ बजे जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो । उहाँको हाल अस्पतालमा उपचार भइरहेको छ ।
लड्दा गुरुङको दाहिने आँखामाथि र निधारमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते गुरुङ बोल्न सक्ने अवस्थामा रहे पनि उहाँको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ ।
घाइतेको उपचारमा उहाँका दाजु यसबहादुर गुरुङ संलग्न रहनुभएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया