ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ । ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको बस शुक्रबार अपराह्न खोलामा आएको बाढी तर्न खोज्दा फसेको हो ।
निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि बस फसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बसमा सवार ३० जना यात्रुलाई भने सकुशल उद्धार गरिएको स्थानीय रोशन कार्कीले जानकारी दिनुभयो ।
खोलामा पानीको सतह बढेपछि तमोर करिडोरको उक्त सडकखण्डमा यातायात सञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । बिहीबार बिहानैदेखि भइरहेको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्दा यातायात सञ्चालनमा समस्या भएको हो ।
कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीलगायत तराईका जिल्लालाई पाँचथर, धनकुटा, तेह्रथुम हुँदै हिमाली जिल्ला ताप्लेजुङसँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा तमोर करिडोर रहेको छ । यस सडकले पूर्वी पहाडी तथा हिमाली जिल्लाका बासिन्दालाई तराईका जिल्लासँग जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
तर, नावा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा पानीको बहाव बढ्नेबित्तिकै यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । खोलामा बाढी आउँदा सवारीसाधन वारपार गर्न नसक्ने र यात्रुले सास्ती खेप्नुपर्ने अवस्था रहेको छ ।
नावा खोलामा पुल निर्माण हुन नसक्दा तमोर करिडोर भएर यात्रा गर्ने यात्रु तथा स्थानीय बासिन्दाले वर्षायाममा पटकपटक समस्या भोग्दै आएका छन् । सडक अवरुद्ध भएपछि यस मार्ग भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् ।






प्रतिक्रिया