ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले ताप्लेजुङका क्यान्सर, मिर्गौला तथा मेरुदण्डसम्बन्धी समस्याबाट पीडित तीन जनाको उपचारका लागि एक लाख ६० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङ्लिङमा पीडित परिवारका प्रतिनिधिलाई रकम हस्तान्तरण गरेको हो ।
समाजका महासचिव दिनेश लिङ्खिमका अनुसार फुङ्लिङ नगरपालिका–६ का दिनेश मादेनलाई ८० हजार रुपियाँ तथा मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका मिङ्मा खाङ्डु शेर्पा र मिङ्मा छेम्बी शेर्पालाई जनही ४० हजार रुपियाँ सहयोग उपलब्ध गराइएको छ । महासचिव लिङ्खिमका अनुसार मादेनको मेरुदण्डमा समस्या देखिएपछि काठमाडौँमा उपचार भइरहेको छ । यस्तै, मिङ्मा खाङ्डु मिर्गौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने मिङ्मा छेम्बी घाँटीको क्यान्सरको उपचार गराइरहनुभएको छ ।
पीडितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराइएको समाजले जनाएको छ । उपचारका क्रममा आर्थिक समस्या झेलिरहेका परिवारलाई सहयोग रकमले केही राहत पुग्ने विश्वास समाजले लिएको महासचिव लिङ्खिमले बताउनुभयो । रकम हस्तान्तरणका क्रममा मेरुदण्डको उपचार गराइरहनुभएका मादेनका प्रतिनिधि मनकुमार मादेन र मिङ्मा खाङ्डुका प्रतिनिधि सन्तोष शेर्पालाई महासचिव लिङ्खिमले सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
मिङ्मा छेम्बीका प्रतिनिधि उपस्थित हुन नसकेकाले उहाँका लागि छुट्याइएको ४० हजार रुपियाँ समाजसँगै रहेको र केही दिनपछि परिवारसँग सम्पर्क गरी हस्तान्तरण गरिने महासचिव लिङ्खिमले जानकारी दिनुभयो । ताप्लेजुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका युवाहरूको साझा संस्थाका रूपमा सन् २०२२ मा स्थापना भएको समाजले जिल्लाका विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको छ ।
महासचिव लिङ्खिमका अनुसार समाजले स्थापना भएदेखि हालसम्म विभिन्न व्यक्ति तथा परिवारलाई गरी ४६ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिसकेको छ । बिरामीको उपचार तथा समस्यामा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले समाजले आर्थिक सहायता उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।






प्रतिक्रिया