ताप्लेजुङ, असोज १२ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ स्थित दोभान सामुदायिक स्वास्थ्य केन्द्र नजिक तमोर करिडोरअन्तर्गतको सडकमा माथिबाट ठूला ढुङ्गा खस्दा सडक अवरुद्ध भएको छ । सडक माथिबाट खसेका ठूला ढुङ्गा सडकमा थुप्रिएपछि यातायात सञ्चालन प्रभावित भएको हो ।
निरन्तरको वर्षाका कारण सडक माथिको भिरालो भागबाट ढुङ्गा खसेको जनाइएको छ । आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन) का अनुसार सडकमा खसेका ढुङ्गा सामान्य जेसीबी प्रयोग गरेर पन्छाउन सकिने अवस्था छैन । ठूला ढुङ्गा भएकाले सडक खुलाउन ठूलो क्षमताको मेसिन आवश्यक पर्ने उहाँले बताउनुभयो ।
सडक तत्काल खुलाउन ठूलो मेसिनको व्यवस्था गरी ढुङ्गा पन्छाउने तयारी भइरहेको अध्यक्ष पोमुले जानकारी दिनुभयो । त्यसका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।
सडक अवरुद्ध भएपछि तमोर करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् । सडक खुलाउने कामका लागि आवश्यक समन्वय भइरहेको भए पनि तत्कालै यातायात सञ्चालन हुने अवस्था निश्चित नभएको गाउँपालिकाले जनाएको छ ।
सडक आसपासमा थप ढुङ्गा खस्ने जोखिमसमेत रहेकाले अवस्था बुझेर मात्र यात्रा गर्न गाउँपालिकाले यात्रुलाई आग्रह गरेको छ । विशेषगरी वर्षाका बेला सडक माथिको भिरालो क्षेत्रमा सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।






प्रतिक्रिया