ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार भएकोे फाइनल खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।
खेलको ६९औं मिनेटमा सलहेशका फागुराम थारुले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । उक्त गोल नै सलहेशका लागि उपाधि हात पार्न निर्णायक बनेको थियो ।
जीत सँगै सलहेशले नगद सात लाख दुई हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेको छ । यस्तै उपविजेता बन्न सफल पाँचथरले तीन लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको आयोजक लाखेजात्रा सञ्चालन समितिको कोषअध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।
यसैगरी प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लबका अनुकेश शेर्मा सर्वश्रेष्ठ खेलाडी बन्नुभयो । सर्वश्रेष्ठ खेलाडी बन्नुभएका शेर्माले बजाज कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभएको छ । त्यस्तै, प्रतियोगिताको फाइनल खेलमा सलहेसका सनिस श्रेष्ठ म्यान अफ दि म्याच बन्नुभयो । सलहेसकै दीप कार्की उत्कृष्ट गोलरक्षक बन्नभयो भने सलहेसकै अविषेक लिम्बू उत्कृष्ट डिफेन्डर र सुशील यादव उत्कृष्ट मिडफिल्डर बन्नुभयो ।
उत्कृष्ट फर्वाड भने फिदिमका हिटेन सुहाङ हुनुभयो । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले जनही १५ हजार रुपियाँका दरले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
भदौ १२ गतेबाट भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । अत्याधिक वर्षाका कारण केहीबेर खेल प्रभावित समेत बन्न पुगेको थियो ।
लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । जिल्लाको अर्थिक चलयमान साथै पर्यटन प्रर्बद्धनका लागि खेल सञ्चालन गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।






प्रतिक्रिया