ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाको स्थापना दिवसको अवसरमा उत्कृष्ट शसस्त्र प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । विहीबार १६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शसस्त्र प्रहरी कर्मचारी, गुल्मलाई सहयोग गर्ने सङ्घ संस्था तथा पालिकालाई सम्मान गरिएको हो ।

शसस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मका गुल्मपति, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमोद प्रकाश पाठकका अनुसार २५ औँ शसस्त्र प्रहरी दिवसको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो । गुल्मीमार्फत विभिन्न स्थानमा संरचना निर्माणका लागि आर्थिक सहयोग गरेका स्थानीय फुङलिङ नगरपालिका, निर्माणधीन जलविद्युतहरु अप्पर तमोर हाइड्रोपावर, स्पार्क हाइड्रो इलेक्ट्रिक लगायतका संस्थालाई समेत सम्मान गरिएको गुल्मपति पाठकले जानकारी दिनुभयो ।

२५ औँ शसस्त्र प्रहरी दिवसको अवसरमा आयोजित श्रव्य दृश्य प्रतियोगिताका विजेतालाई समेत पुरस्कार प्रदान गरिएको छ । गुल्मका अनुसार प्रतियोगिताका विजेता सिरिजंघा गाउँपालिकास्थित सिनाम माध्यमिक विद्यालयका बेशिका अधिकारीलाई नगद पाँच हजार रुपियाँ सहित प्रशंसा पत्रले पुरस्कृत गरिएको हो ।

कार्यक्रम शसस्त्र प्रहरी बल पूर्वी पृतना हेडक्वार्टर पकली सुनसरीका शसस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस्तै फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन), मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की, पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर कुमार मेन्याङबो, मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर), फुङलिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं, सबै सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया