ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ मेयर कप ब्याडमिन्टन प्रतियोगितामा सुरु भएको छ । प्रतियोगिता फुङलिङ नगरपालिका ६ मा रहेको इन्द्रेणी ब्याडमिन्टन हलमा बिहीबारबाट प्रतियोगिता सुरु भएको हो ।
जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको आयोजना तथा फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको छ । फुङलिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझाको प्रमुख आतिथ्यमा बिहीबार बाट सुरु भएको प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगितामा ५ विधाका प्रतिष्पर्धा रहने सङ्घका अध्यक्ष सुरेश सिङ्घक लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश स्तरीय मेन्स सिङगल, प्रदेश स्तरीय खुल्ला मिक्स डबल, जिल्ला स्तरीय बी लेभल मेन्स डबल, भेट्रान्स डबल, १५ वर्षमुनिको छात्रछात्रा तथा जनपद र कर्मचारीबीच विधाका प्रतिष्पर्धा रहने छन् । प्रतियोगितामा कोशी प्रदेशका १४ ओटा जिल्लाका उत्कृष्ट खेलाडीका सहभागिता रहेको सङ्घका अध्यक्ष लिम्बूले बताउनुभयो । जिल्लाका उदयमान खेलाडीलाई प्रोत्साहन तथा सिकाइका लागि कोशी प्रदेशका उत्कृष्ट खेलाडीलाई आमन्त्रण गरि प्रतियोगिता सञ्चालन गरिएको सङ्घले जनाएको छ ।
सङ्घका अनुसार प्रदेश स्तरीय मेन्स सिङगलतर्फका प्रथमले २५ हजार, द्वीतियले २० हजार र तृतीयले ५ हजार रुपियाँसहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रदेश स्तरीय खुल्ला मिक्स डबलतर्फका प्रथमले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले ५ हजार रुपियाँ प्राप्त गर्ने भएका छन् ।
जिल्ला स्तरीय बी लेभल मेन्स डबल, भेट्रान्स डबल र जनपद र कर्मचारीबीचको विजेता र उपविजेताले समान १५ हजार र १० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । १५ वर्षमुनिको छात्रछात्राका विजेतालाई प्रोत्साहन स्वरुप ६ हजार र उपविजेतालाई चार हजार रुपियाँ प्रदान गर्ने बताइएको छ ।






प्रतिक्रिया