ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी एकेडेमीले दीक्षित भएका १८ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । एकेडेमीले इमेज एनोटेसनका १३ जना, ग्राफिक डिजाइनका ४ जना र वेभ डेभलपमेन्टका १ जना गरी जम्मा १८ दीक्षित प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको हो ।
कोशी प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खगेनसिं हाङगामको प्रमुख आतिथ्यतामा प्रमाण पत्र वितरणको कार्यक्रम सम्पन्न भएको एकेडेमी प्रमुख बसन्त लिम्बूले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त एकेडेमीबाट अहिले सम्म ग्राफिक डिजाइन, वेभ डिभलोपमेन्ट, डिजिटल मार्केटिङ र इमेज एनोटेसन मार्फत २१० जना प्रशिक्षार्थीहरू दीक्षित भइसकेका छन् ।

दीक्षित भएका अधिकांशले देश तथा विदेशका कम्पनीहरूमा रोजगारी प्राप्त गरी काम गरिरहेको पनि प्रमुख लिम्बूको भनाई छ । अहिले भने ग्राफिक डिजाइन र वेभ डेभलपमेन्टका कक्षाहरू सञ्चालन भइरहेको छ । जसमा ताप्लेजुङ सहित पाँचथर, सुनसरी, सप्तरीका ६१ जना प्रशिक्षार्थीहरूले तालिम लिइरहेका छन् ।
प्रमाणपत्र वितरण कार्यक्रम सँगै पूर्व मन्त्री हाङ्गामले एकेडेमीको अवलोकन समेत गर्नुभएको छ । हाङ्गमले आफ्नो कार्यकालमा ग्राफिक डिजाइन र वेब डेभलपमेन्टको लागि भनेर ३९ लाख रुपियाँ बजेट विनियोजन गर्नु भएको थियो । अहिले घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ मार्फत सोही कार्यक्रम अन्तरगतको कक्षा सञ्चालन भइरहेको एकेडेमी प्रमुख लिम्बूले जानकारी दिनुभयो ।







प्रतिक्रिया