ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा हिमपात भएको छ । मङ्गलबार दिउँसोदेखि वर्षा सँगै तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरामा हिमपात भएको हो ।

हिमपात भएपछि पाथीभरा क्षेत्रमा चिसो समेत बढेको छ । मन्दिर क्षेत्रमा कार्यरत पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा क्षेत्रमा यो वर्षमा चौथो पटक हिमपात भएको हो । उहाँका अनुसार मन्दिर सँगै मन्दिर क्षेत्र आसपास र फुङलिङ नगरपालिका–१० काफ्लेपाटी सम्म नै हिमपात भइरहेको छ ।

गत वर्षको तुलनामा आजको हिमपात धेरै भएको उहाँको भनाई छ । हिमपातले दर्शनार्थीलाई भने प्रभाव पारेको उहाँको भनाइ छ । पाथीभराको सिजन सुरु भए सँगै अहिले दर्शनार्थीहरूको सङ्ख्या पनि बढ्न थालेको छ । हिमपात भएपनि मन्दिरमा दर्शन गर्ने भक्तजनहरू भने आइरहेको महतको भनाई छ ।

साताको मङ्गलबार र शनिबार अन्य दिनको तुलनामा अत्याधिक मात्रामा तीर्थयात्री पाथीभरा पुग्ने गरेका छन् ।






प्रतिक्रिया