ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा जारी प्रथम मानाभारा गोल्ड कपको तेस्रो दिन आजबाट अन्तिम क्वाटरफाइनल खेल हुँदै छ । मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भएको प्रथम मानाभारा गोल्ड कपमा आजबाट अन्तिम क्वाटरफाइनल खेलमा नव प्रयास युनाइटेड क्लब हाङ्देवा, प्रगतिशील युवा क्लब लिङ्तेपबिच भिडन्त हुने भएको हो ।
हिजो क्वाटरफाइनल अन्तरगतका दुई खेल सञ्चालन भएको थियो । जसमा सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र मैवाखोला गाउँपालिका ढुङ्गेसाँघुको जनसेवा आर्दश स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । हिजो भएको पहिलो क्वाटरफाइनल खेलमा सिँवा स्पोर्टिङ फक्ताङलुङलाई ४–० गोल अन्तरले पराजित गर्दै सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको २८ औँ मिनेटमा लालिगुराँसका लागि हितेश लिम्बुले पहिलो गोल गर्दै अग्रता दिलाउनुभयो । त्यस्तै खेलको ४८ औँ, ५१ औँ र ६३ औँ मिनेटमा लालिगुराँस युथ क्लबका लागि ह्याट्रिक गोल गर्दै दिपेश लिम्बुले आफ्नो टिमको जितलाई सुनिश्चित गर्नुभयो । उक्त खेलको म्यान अफ द म्याच दिपेश लिम्बू घोषित हुँदै पुरस्कृत हुनुभयो ।
त्यस्तै हिजो नै भएको दोस्रो क्वाटरफाइनल खेलमा लिखु भुजी रामेछाप युथ क्लब काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै जनसेवा आर्दश स्पोर्टिङ क्लब ढुङगेसाँघु ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । खेलको ४१ औँ मिनेटमा लिखु भुजी रामेछाप युथ क्लबका पवन बुढाथोकीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनु भएपनि जितका लागि पर्याप्त भने भएन ।
खेलको ५९ औँ मिनेटमा जनसेवा आर्दशका स्पोर्टिङका विशाल लिम्बुले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउनुभयो । त्यस्तै जनसेवाकै सुरेन्द्र लिम्बुले खेलको ६९ औँ मिनेटमा गोल गरे । त्यसपछि लिखु भुजी रामेछापबाट थप गोल हुन नसक्दा मैवाखोला सेमिफाइनलमा पुग्न सफल भयो । उक्त खेलको म्यान अफ द म्याच जनसेवाका सुरेन्द्र लिम्बू घोषित हुँदै पुरस्कृत हुनुभयो ।
मङ्गलबार भएको उद्घाटन खेलमा मानाभारा युथ स्पोर्टिङ क्लब र माछापोखरी हिटी क्लब चाँगे बिच प्रतिस्पर्धा भएको थियो । जसमा आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै चाँगे सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । आयोजकका कप्तान मनराज लिम्बूले खेलको ५१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनु भएको थियो । तर ५८ औँ मिनेटमा चाँगेका दिपेश श्रेष्ठले गोल गर्दै बराबरी गर्नुभयो । त्यस्तै पुन श्रेष्ठले ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–१ गोलअन्तरले पछि पार्दै अघि बढेको ४ मिनेटपछि आयोजकका विवेक लिम्बूले गोल गरेर बराबरीमा रोक्न सफल हुनु भएको थियो ।
प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेतालाई नगद १ लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको मानाभारा स्पोर्टिङ क्लबका सचिव मौसम अन्छङ्बोले बताउँनुभयो । साथै विभिन्न विधामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका संरक्षक विकास साम्रा रविनले जानकारी दिनुभयो ।
खेजेनिमको आहाले टारमा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल आगामी पुस १९ गते हुने छ ।






प्रतिक्रिया