साहारा लिम्बू
ताप्लेजुङ, कात्तिक ३० गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ४२ हजार बढी भक्तजनले दर्शन गरेका छन् । मन्दिरमा कात्तिक महिनामा ४२ हजार १६१ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका हुन् ।
अहिले पाथीभरा दर्शनका लागि प्रमुख सिजन भएका कारण दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । यस्तै कात्तिक महिनामा ३४ लाख ४८ हजार बढी भेटी सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार कात्तिक महिनामा भक्तजनहरूले ३४ लाख ४८ हजार ५०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् ।
तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक साता सम्मको संलकन गरि फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ ।
कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरि समितिले व्यवस्थापन गरेको छ ।






प्रतिक्रिया