ताप्लेजुङ, भदौ ३१ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा एक महिनामा झण्डै १० लाख रुपियाँ भेटी सङ्कलन भएको छ । भदौ महिनामा ९ लाख ९७ हजार रुपियाँ भेटी सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार उक्त रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनका लागि प्रमुख सिजन लागेसँगै दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि बढ्दै गएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।
तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक साता सम्मको संलकन गरि फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ ।
कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरि समितिले व्यवस्थापन गरेको छ । बुधबार सार्वजनिक तथ्याङ्क अनुसार भदौ महिनामा ४ हजार ५०३ जना तीर्थयात्री दर्शनका लागि पाथीभरा आएका छन् ।
प्रतिक्रिया