रेडियो काबेली
ताप्लेजुङ । पाथीभरा (मुकुम्लुङ) दर्शनका लागि ताप्लेजुङ आई अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को समन्वयमा उद्धार गरिएको छ । केबलकार खारेजी पक्षद्धारा आह्वान गरिएको मेचिराज मार्ग, तमोर करिडोर र तेह्रथुम सहितका नाकाबाट जिल्ला भित्रिने र बाहिरीने यातायात बन्दका कारण जिल्ला सदरमुकाम फुङलिङमा अलपत्र अवस्थामा रहेका ३९ जना तिर्थ यात्रीलाई ईन्सेकसँगको समन्वयमा बिहिबार उद्धार गरी पाँचथरतर्फ पठाईएको सशस्त्र प्रहरी बल नेपाल नंं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका गुल्मपति, प्रहरी नायव उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ ईन्सेक जिल्ला प्रतिनीधि एलिना दियालीले अलपत्र अवस्थामा काँस्की, काठमाडौँ, झापा सहित विभिन्न जिल्लाका तिर्थयात्री फुङलिङमा अलपत्र अवस्थामा रहेको र सहयोग गर्न आग्रह गर्नुभयो । त्यस्तै पत्रकार देवराज गुरुङले पनि केहि तिर्थयात्री अलपत्र परेको जानकारी दिनभयो । सोही अनुसार सशस्त्र प्रहरीले बन्दका कारण अलपत्र परेका व्यक्तिहरुलाई सहायता कक्ष नै स्थापना गरि जिल्लामा अलपत्र परेका अन्य यात्रुहरु समेत खोजी गरि जिल्ला प्रसाशन कार्यालय र फुङलिङ नगरपालिकाको सहयोगमा उक्त तिर्थयात्रीहरुको स्वास्थ्य अवस्था जाँच बुझ गरि खानाको समेत व्यवस्था गरि पाँचथर तर्फ पठाईएको छ ।”
सशस्त्र प्रहरीको जिम्मेवारी काबेलीसम्म भएता पनि यात्रुहरुको सुरक्षा व्यवस्था र अलपत्र नहुन भन्ने कुरालाई मध्यनजर गरी पाँचथर सदरमुकाम फिदिमसम्म पठाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक महर्जनको भनाई छ । पाँचदिन देखी जिल्लामा अलपत्र परेर उद्धार हुँदा खुसि लागेको तिर्थयात्रीले बताएका छन् । अलपत्र परका काठमाडौंका दिनेश शर्माले भने,“पाँचदिन देखि पाथीभरा दर्शन गर्नका लागि ताप्लेजुङ आएर बसि रहेका थियौँ । हामीलाई पत्रकार एलिना दियाली, सशस्त्र प्रहरी ताप्लेजुङ र प्रसाशनले सहयोग गर्नुभयो र हामी गन्तव्यतर्फ लाग्दैछौँ सबैलाई धन्यवाद दिन चाहान्छु ।” साथै उहाँले जिल्लाको आन्तरिक विषयलाई लिएर आन्दोलन गरी पाथीभरा दर्शनका लागि आउने तिर्थयात्रीलाई समस्या हुने स्थिती नबनाई दिए सहज हुने बताउनुभयो ।
त्यस्तै सप्तरी राजविराजबाट पाथीभरा दर्शन गर्न आई अलपत्र परेका अर्का तिर्थयात्री अनिल कुमार मण्डलले पनी गन्तब्यतर्फ जान पाउँदा खुसि लागेको बताउनुभयो । उहाँले भन्नुभयो,“ काठमाडौबाट पाथीभरा दर्शनका लागि ताप्लेजुङ सामेबार आए । मंगलबार पाथीभार दर्शन गरेउँ । तर दर्शन गरेपछि मंगलबार काफ्लेपाटी झरेपछि बन्द भन्ने थाहा भयो । प्रहरीले स्कटिङ गरेर सदरमुकाम सम्म ल्याई पु¥याउनुभयो । तर हामी सदरमुकाममा आएपछि अलपत्र प¥यौँ । आज चैँ सशस्त्र प्रहरीले सहयोग गर्नुभयो । गन्तब्यतर्फ जान पाउँदा खुसि लागेको छ ।”
यता केहि तिर्थयात्री भने डरका कारण दर्शन नगरी फर्किएका छन् । सिराहाबाट पाथीभराको दर्शन गर्न आएका रवि शर्माले आफु डर र त्रासका कारण मन्दिर दर्शन नगरी फर्किएको बताउनुभयो । उहाँले भन्नुभयो,“ सिराहाबाट पाथीभरा दर्शन आको थिए तर विजोग भयो । आन्दोलनले गरेर आधाबाटो बाट नै फर्किनु पर्ने भयो । फेरि अर्को पटक आउँला भन्ने आशा बोकेर घर फर्किदैछु ।”
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्य सुरु भएपछि आन्दोलनरत पक्ष र प्रहरी बिच गत शनिबार पाथीभरा क्षेत्रको बलु डाँडामा झडप भएको थियो । उक्त झडपमा प्रहरी सहित आन्दोलनरत पक्षका व्यक्तिहरु घाईते भएका थिए । त्यस पश्चात केबलकार खारेजी समितीले मंगलबारबाट आफ्ना मागहरु पुरा नहुञ्जेलसम्मका लागि मेचिराजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ भित्रिने र बाहिरीले यातायात बन्दको आह्वान गरेसँगै यात्रुहरु अलपत्र परेका हुन् । यातायात सञ्चालन हुन नसक्दा तिर्थयात्रीसँगै स्थानीय मर्कामा परेका छन् । यसैबिच अलपत्र यात्रुलाई सहयोग गर्न सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाले अलपत्र यात्रु सहायता कक्ष स्थापना गरेर सहयोग गर्न सुरु गरेको छ ।
प्रतिक्रिया