हरितालिका तीजको महिमाः उपवास र हालको सृगांरिक पक्षले ल्याउन खोजेको समानता




ई.वीरेन्द्र श्रेष्ठ
ताप्लेजुङ । हरितालिका तीज सनातन धर्म भित्रको एक विशेष पर्व हो । बिशेषगरी महिलाहरूले मनाउँने यो पर्वलाई भगवान शिव र देवी पार्वतीको प्रेम र समर्पणको प्रतीक मानिन्छ । नेपालमा यस पर्वलाई धूमधामसँग मनाइने गरिएको छ, जहाँ महिलाहरूले आफ्नो पतिको दीर्घायु र सुख–समृद्धिका लागि व्रत बस्ने गर्छन् ।

हरितालिका तीजले महिलाहरूलाई धार्मिक, सांस्कृतिक, र सामाजिक अखण्डताको रूपमा एक आपसमा बाँध्ने काम गरेको छ । यस लेखमा हरितालिका तीजको परम्परागत चलन, यसको महत्व, चेली–माईतीबीचको सामिप्यता र आधुनिक तीजको बदलिँदो स्वरूपका बारेमा विस्तृत चर्चाको प्रयास गर्नेछु ।

तीजको परम्परागत चलन र यसको महत्वः हरितालिका तीजको उत्पत्ति सनातन धर्मग्रन्थहरूसँग जोडिएको छ । हिन्दू मान्यता अनुसार, देवी पार्वतीले भगवान शिवलाई पति बनाउनको लागि कठोर तपस्या गरेकी थिइन् । उनको तपस्याबाट प्रभावित भएर भगवान शिवले उनलाई पत्नीका रूपमा स्वीकार गरेका थिए । “हरितालिका” शब्द “हरित” (अपहरण) र “आलिका” (मित्र) बाट बनेको कथा अनुसार, देवी पार्वतीलाई उनका साथीहरूले अपहरण गरेर एउटा जंगलमा लगेका थिए, जहाँ उनले भगवान शिवलाई प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन् ।

परम्परागत रूपमा, महिलाहरूले तीजको दिन उपवास सहित व्रत बस्ने गर्छन। यस व्रतले महिलाहरूको धार्मिक आस्था र पतिको दीर्घायुको कामनालाई प्रतिनिधित्व गर्छ । विवाहित महिलाहरूले आफ्नो पतिको कल्याणका लागि व्रत बस्छन् भने, अविवाहित महिलाहरूले राम्रो वर पाउनका लागि व्रत बस्ने परम्परा छ । तीजको पूजा, गीत, र नाचगानले महिला समुदायमा धार्मिकता, संस्कार, र एकताको भावना पैदा गर्छ ।

चेली–माईतीबीचको सामिप्यता र प्रेमः हरितालिका तीजले चेली (छोरी) र माईती (माइतीघर) बीचको आत्मीयता र प्रेमलाई विशेष रूपमा उजागर गर्छ । परम्परागत रूपमा, तीजको अवसरमा चेलीहरू आफ्नो माईतीघरमा जानेगर्छन, जहाँ उनीहरूलाई विशेष सत्कार गरिन्छ । तीजको पर्व चेलीहरूका लागि एक पुनर्मिलनको अवसर हो, जहाँ उनीहरूले आफ्ना माईतका परिवारसँग समय बिताउन पाउँछन्।

माईतीघरमा चेलीहरूको आगमनले माईती र चेलीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । तीजको दिन माईतीले चेलीको खुशीका लागि विशेष परिकारहरू बनाउने, पूजा गर्ने, र नाचगानको कार्यक्रमहरू आयोजना गर्ने गर्छन् । तीजको यस परम्पराले चेली–माईतीबीचको प्रेम र आत्मीयता अभिवृद्धि गर्छ, जसले सामाजिक रूपले एकता र सुदृढ पारिवारिक सम्बन्धलाई प्रवद्र्धन गर्छ ।

शिव÷पार्वतीको सम्बन्ध र हरितालिका तीजः हरितालिका तीजमा शिव÷पार्वतीको सम्बन्धलाई महत्वपूर्ण रूपमा हेरिन्छ । हिन्दू धर्मशास्त्रअनुसार, भगवान शिव संहारकर्ता हुन् भने देवि पार्वती, जो भगवान शिवकी पत्नी हुन्, शक्ति र मातृरूपाको प्रतीक मानिन्छ।

पार्वतीको शिवलाई पति बनाउनको लागि गरेको तपस्याले प्रेममा तपस्याको महत्त्वलाई उजागर गर्छ । हरितालिका तीजमा, महिलाहरूले शिव र पार्वतीको प्रेम र समर्पणलाई सम्झेर पूजा गर्छन् । शिव र पार्वतीको सम्बन्धले सृष्टिमा सन्तुलन, प्रेम, र समर्पणको महत्वलाई प्रतिविम्बित गछ । यो पर्वले धार्मिक आस्थासँगै पति प्रतिको प्रेम र समर्पणलाई पनि उजागर गर्छ ।

आधुनिक तीज : श्रृंगार, भव्यता, र सामाजिक परिवर्तनः समयसँगै तीजको स्वरूपमा व्यापक परिवर्तन आएको छ । आधुनिक तीजमा, महिलाहरूले महँगा पहिरन, गरगहना, र विशेष सृंगारमा बढी ध्यान दिन थालेका छन् । परम्परागत साधारणताको साटो, तीज अब भव्य पार्टीहरू, सामूहिक भोज, र सामाजिक सञ्जालमा प्रदर्शनको माध्यम बन्न पुगेको छ।

अहिलेको तीजमा महिलाहरूले सामूहिक भोज, ठूलो संख्यामा उपस्थित महिला जमघट, र महँगा होटलहरूमा तीज मनाउने प्रचलन बढेको छ । तीजको परम्परागत गीतहरूको ठाउँमा आधुनिक गीतहरू, चलचित्रका गीतहरू, र केहि ठाँउमा उच्छृंखल संगीतमा आधारित नृत्यहरूको बढावा हुदै गएको छ । समाजमा बढ्दो उपभोक्तावाद र प्रतिस्पर्धाले तीजलाई परम्परागत सादगीबाट टाढा पु¥याएको छ । तीजको श्रृंगार र भव्यता अब साधारणतामा होइन, महँगो र आकर्षक प्रदर्शनमा केन्द्रित हुन पुगेको छ।

पुरानो र नयाँ तीजबीचका समबिन्दु र विभेदः पुरानो र नयाँ तीजबीचका समबिन्दुहरू र विभेदहरूको विश्लेषण गर्दा, केही महत्त्वपूर्ण पक्षहरू देखा पर्छन् :

“समबिन्दुहरू”

१. धार्मिकता र पूजाः पुरानो र नयाँ तीज दुवैमा भगवान शिवको पूजा, व्रत, र धार्मिक कार्यहरू गरिन्छ । महिलाहरूले आफ्नो पतिको कल्याण, दीर्घायु, र परिवारको सुख–समृद्धिको लागि व्रत बस्ने परम्परा दुवै समयको तीजमा समान छ।

२. चेली–माईती सम्बन्धः पुरानो र नयाँ तीज दुवैमा चेली–माईती सम्बन्धको महत्व समान छ । तीजको अवसरमा चेलीहरूको माइतीघरमा स्वागत गरिन्छ, र उनीहरूको खुशीका लागि विशेष तयारी गरिन्छ । चेली र माईतीबीचको आत्मीयता र प्रेम तीजको केन्द्रीय पक्ष हो, जुन पुरानो र नयाँ दुवै तीजमा स्थिर रहेको छ ।

३. नाचगान र गीतः पुरानो तीजमा जस्तै नयाँ तीजमा पनि नाचगान र गीतहरूको महत्व छ । यद्यपि, परम्परागत गीतहरूको स्थानमा आधुनिक गीत र भड्किला शब्दले भरिएका गीतहरूले स्थान लिन थालेका छन्, जसले गर्दा नयाँ तीजमा परम्परागत संगीतको स्थान अलिकति घटेको देखिन्छ । जो समयसापेक्षताको कारण पनि हो ।

४. पारम्परिक रूपले, तीजको दिन महिलाहरूले दिनभरि निर्जल उपवास बस्ने र राति व्रत समाप्त गरेपछि मात्रै केही खाने चलन थियो । तर आधुनिक समयमा, स्वास्थ्य र भौतिक जीवनशैलीको कारण केही महिलाहरूले राति केही सादा खाना खाने चलन पनि बसेको छ ।

यो परिवर्तनले महिलाहरूलाई आफ्नो धार्मिक आस्था र स्वास्थ्यको बीच सन्तुलन कायम राख्न मद्दत गरेको छ । केही ठाउँमा, राति खाने चलनलाई स्वीकार गर्ने क्रममा पनि धार्मिक नियमहरूको पालन गरिन्छ, जसले उपवासको पवित्रतालाई कायम राख्छ भन्ने मान्यता छ । साचो अर्थमा सनातन संस्कारमा यहि अनिवार्य हुनै पर्छ भन्ने कठोरता नभएर पनि धर्म परिवर्तनको सृङखला जारी रहेको देखिन्छ ।

“विभेदहरू”
१. श्रृंगार र भव्यताः पुरानो तीजमा सादगी, सरलता, र धार्मिक आस्थामा ध्यान केन्द्रित थियो । महिलाहरूले साधारण पहिरनमा सजिएर घरमै भगवान शिवको पूजा गर्थे । आधुनिक तीजमा भने महँगा पहिरन, आकर्षक गरगहना, र विशेष श्रृंगारको महत्व बढेको छ।
२. समाजिक प्रदर्शनः पुरानो तीज मुख्यतः धार्मिक क्रियाकलापमा केन्द्रित थियो भने नयाँ तीजमा सामाजिक सञ्जालमा आफ्नो तस्बिरहरू र अनुभवहरू प्रदर्शन गर्ने प्रचलन बढेको छ ।
३. नाचगानको स्वरूपः पुरानो तीजमा परम्परागत लोकगीतहरू गाउने र नाचगान गर्ने चलन थियो भने नयाँ तीजमा आधुनिक गीत र भड्किला नृत्यले पश्रय पाउन थालेको अवस्था छ । यो परिवर्तनले परम्परागत संस्कृति र आधुनिकता बीचको विभाजनलाई देखाउँछ ।

हरितालिका तीज नेपालमा मनाईने महत्वपूर्ण पर्व मध्येको एक हो, जसले महिलाहरूको धार्मिक आस्था, पति प्रतिको प्रेम, र चेली–माईतीबीचको आत्मीयतालाई उजागर गर्छ । पुरानो तीजले धार्मिकता, सादगी, र सांस्कृतिक परम्परालाई महत्व दिएको थियो भने, नयाँ तीजले भव्यता, श्रृंगार, र सामाजिक प्रदर्शनमा केन्द्रित भएको छ । तीजको परम्परागत महत्वलाई सुरक्षित राख्न, हामीले परम्परा र आधुनिकताबीच सन्तुलन कायम राख्नुपर्छ ।

पितृ सतात्मक देशको रूपमा चिनिएको हाम्रो नेपालमा तीजको अहिलेको सृगांरिक उत्सव मनाउने चलनले, सदियौं देखि जहिले नारीलाई अनेकन बन्धनका दायरा भित्र बाँधेर घर भित्र मात्र राख्ने दुष्यत्नलाई एक पाईला अघि बढेर समाजमा नारी र पुरुष बीचको बिभेदलाई कम गर्न प्रयत्न गरिरहेको छ ।

आरक्षणको दायरामा हैन सवलताको उचो शिखरमा हरेक नारीहरुलाई पु¥याएर एक सबल महिला, एक सबल परिवार, एक सबल समाज र समृद्ध मुलुकको कल्पना अनिमात्र गर्न सकिन्छ भन्ने स्वतन्त्रता र दृढतालाई बलियो बनाउदै लगेको छ आजको तीजले । समस्त श्रद्धेय नारीहरुलाई हृदय देखिको सम्मान र २०८१ साल तीजको हार्दिक मंगलमय शुभकामना ।

लेखकको बारेमाः लेखक ई. श्रेष्ठ हाईड्रो ईन्जिनियर सँगै गायक तथा समाज परिवर्तनका लागि विभिन्न लेख रचना लेखिरहन्छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार १८:५४

असोज २ देखि ‘मुक्कुमलुङ’ शिल्पी थिएटरमा मञ्चन हुँदै

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ

फक्ताङलुङमा बाटो खनिरहेको स्काभेटरमा पहिरो खस्यो

रेडियो काबेलीताप्लेजुङ । तमोर करिडोर अन्तर्गत जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा

श्री सिंहपुर पशुपति माध्यमिक विद्यालयमा ६ लाख बढिको अक्षय कोष स्थापना

पाँचथर । हिलिहाङ गाउँपालिका वडा नं. २ पाँचथरमा रहेको श्री

फक्ताङलुङ सवारी दुर्घटनामा घाईते गुरुङको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप

न्यौपानेको संयोजकत्वमा रास्वपा ताप्लेजुङ–काठमाडौं विभाग गठन

रेडियो काबेलीताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश न्यौपानेको संयोजकत्वमा “ताप्लेजुङ्