साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ भव्यताका साथ सम्पन्न भएको छ । ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ गत जेठ ३ गतेबाट सुरु भएको उक्त महोत्सव जेठ ७ गते सम्पन्न भएको हो ।
विभिन्न जाति, भाषा, धर्म र संस्कृतिको सहभागीमा कलशयात्रा गरी सुरु भएको महोत्सव ५ दिन फुङ्लिङको हुलाक कार्यलय छेउमा सञ्चालन भएको थियो । महोत्सव भरी फुङलिङ नगर तुल, ब्यानर, र फूलले सजिसजाउ भएको थियो । विभिन्न प्रतियोगिता सँगै साहित्यिक र सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको महोत्सवले ताप्लेजुङको पर्यटन प्रवर्द्धन तथा विकास गर्ने विश्वास राखिएको मूल आयोजक समिति सदस्य सचिव देवराज गुरुङले बताउनुभयो ।
महोत्सवमा पुरुष तथा महिला हाफ म्याराथन, अन्तरपालिकास्तरीय चौथो मेयर कप, डोके क्यारी रन पुरुष, टपरी बुन्ने, डोको बुन्ने र अन्तरपालिकास्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको महोत्सवका संयोजक जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिनु भएको छ ।
![](https://i0.wp.com/radiokabeli.com/wp-content/uploads/2024/05/441071057_7272441356215015_3011700007971055150_n-768x512.jpg?resize=720%2C480&ssl=1)
खुल्ला पुरुष तथा महिला हाफ म्याराथनको उपाधि आर्मीका श्रेष्ठ र रोकायालाई
खुल्ला पुरुष म्याराथन प्रतियोगितामा होमलाल श्रेष्ठ प्रथम हुनु भएको छ । त्रिभुवन आर्मी क्लबका श्रेष्ठले उक्त प्रतियोगिताको निर्धारित दूरी ४ घण्टा ५ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथम हुनु भएको हो ।
यस्तै दोस्रो लिक सुनुवार हुनु भएको छ । उहाँले ४ घण्टा १२ मिनेट ४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो हुनुभएको हो भने, पाँचथरका प्रताप थाम्सुहाङ तेस्रो हुनु भएको छ । उहाँले ४ घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गर्नु भएको छ । प्रतियोगिताका लागि फुङलिङ नगरपालिका वडा नं. ६ टुक्रे देखि पाथिभरा देवी मन्दिर पुगी पुन फर्की हुलाक कार्यलय छेउ कार्यक्रम सञ्चालन भएको स्थान सम्मलाई दूरी निर्धारण गरिएको थियो ।
![](https://i0.wp.com/radiokabeli.com/wp-content/uploads/2024/05/88f6090b-fa91-4a51-a9f6-9ab54d0083b5-768x432.webp?resize=720%2C405&ssl=1)
प्रतियोगितामा प्रथम हुनेले १ लाख ५१ हजार १ सय ११, द्वितीयले १ लाख ११ हजार १ सय ११ तथा तृतीयले ५१ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् । सहभागी प्रतियोगी मध्ये उत्कृष्ट १०औं स्थान सम्म आइपुग्नेलाई समान ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा जम्मा ११४ जना धावकको प्रतिस्पर्धी रहेको थियो ।
यस्तै महिला हाफ म्याराथनमा सुनसरी रोकाय प्रथम हुनु भएको छ । त्रिभुवन आर्मी क्लबकै सुनसरी रोकायले ३ घण्टा ४४ मिनेट ५२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम हुनु भएको हो ।
प्रतियोगिताका लागि फुङलिङ नगरपालिका वडा नं. ६ टुक्रे देखि तल्लो फेदी काफ्ले पार्टी पुगी पुन फर्की हुलाक कार्यलय छेउ कार्यक्रम सञ्चालन भएको स्थान सम्मलाई दूरी निर्धारण गरिएको थियो । फुङलिङ नगरपालिका ६ का कुमारी गुरुङ दोस्रो हुनु भएको छ । उहाँले ४ घण्टा २२ मिनेट ५३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुनुभएको हो ।
![](https://i0.wp.com/radiokabeli.com/wp-content/uploads/2024/05/1716190860_myarathun2-1200x560-1-768x358.jpg?resize=720%2C336&ssl=1)
मैवाखोला गाउँपालिकाका विनिता तामाङ तेस्रो हुनुभएको छ भने, मिक्वाखोलाका पेम्बालामू शेर्पा चौथो हुनुभएको छ । मैवाखोला गाउँपालिकाका सोमपाल्मू शेर्पा पाचौँ हुनुभएको छ । उहाँ यस आगाडि भएको प्रतियोगितामा प्रथम हुनुभएको थियो । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ८१ हजार १ सय ११, र ५१ हजार १ सय ११ प्राप्त गरेको आयोजकको भनाई छ ।
त्यस्तै तृतीय हुनेले ३१ हजार १ सय ११ रुपैयाँ पाएका छन् । सहभागी प्रतियोगी मध्ये उत्कृष्ट १०औं स्थान सम्म आइपुग्ने प्रतियोगीहरूले समान ५ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ४७ जना प्रतिस्पर्धीहरूको सहभागिता रहेको थियो
अन्तरपालिकास्तरीय चौथो मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरकलाई
चौथो अन्तरपालिका स्तरीय मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले हात पारेको छ । पालिकास्तरीय भलिबल प्रतियोगितामा सिदिङ्वा गाउँपालिकालाई ३–१ ले पछि पार्दै याङवरक गाउँपालिकाले उपाधि हात पारेको हो ।
![](https://i0.wp.com/radiokabeli.com/wp-content/uploads/2024/05/443711942_905419624930694_6441943595842203803_n-768x512.jpg?resize=720%2C480&ssl=1)
प्रतियोगिताको विजेताले नगद २ लाख ७५ हजार १ सय सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिदिङ्वा गाउँपालिकाले नगद १ लाख ४० हजार १ सय रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक तथा फुङ्लिङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष छितिज सुनुवारले जानकारी दिनुभएको छ ।
![](https://i0.wp.com/radiokabeli.com/wp-content/uploads/2024/05/443696483_122116431632286819_6547391063371986681_n-768x512.jpg?resize=720%2C480&ssl=1)
यस्तै सेमिफाइनल पुग्ने सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाले समान ४५–४५ हजार रुपैयाँ पाएका छन् ।
डोको क्यारी रन प्रतियोगितामा प्रथम भए फक्ताङ्लुङका छत्र कार्की
डोको क्यारी रन प्रतियोगिता (पुरुष) को उपाधि छत्र कार्कीले हात पार्नु भएको छ । तेस्रो ताप्लेजुङ औद्योगिक कृषि प्रदर्शनी मेला अन्तरगत पर्ने उक्त प्रतियोगितामा फक्ताङलुङ गाउँपालिकाका छत्र कार्की प्रथम हुनु भएको हो ।
उहाँले एक घण्टा १५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम हुनुभएको छ । यस्तै फिदिम नगरपालिका १४ पाँचथरका विशाल राई दोस्रो हुनुभएको छ । उहाँले १ घण्टा १९ सेकेन्डमा निर्धारित दूरी पार गर्नु भएको छ भने, तेस्रो मिक्वाखोला गाउँपालिका ३ का मिङ्मा शेर्पा विचारी हुनु भएको छ ।
![](https://i0.wp.com/radiokabeli.com/wp-content/uploads/2024/05/441416495_827265879435310_6865679508370626592_n-768x494.jpg?resize=720%2C463&ssl=1)
उहाँले १ घण्टा २० सेकेन्डमा निर्धारित दूरी पार गर्नु भएको छ । साथै फक्ताङलुङ गाउँपालिकाका सन्च बहादुर शेर्पा चौथो र मिक्वाखोला गाउँपालिकाका फुरलाक्पा शेर्पा पाँचौ हुनु भएको छ । मैवाखोला गाउँपालिकाका वाङगेल शेर्पा छैटौँ र फुङलिङ नगरपालिका ३ का दिपेन्द्र सुजी सातौँ हुनुभएको छ ।
आठौँ, नबौँ र दशौँमा क्रमश मैवाखोला ६ का अमिर लिम्बू, मैवाखोला ५ का लाक्पा नुपु शेर्पा र मैवाखोलाकै आस कुमार लिम्बू हुनु भएको छ । प्रतियोगिताको प्रथम हुनेले नगद ३० हजार रुपैयाँ पाएका छन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पाएका छन् ।
प्रतियोगितामा चौथो, पाँचौ, छैटौँ, सातौँ, आठौँ, नबौँ र दशौँ हुने सहभागीहरूले पनि जनही १ हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा जम्मा २३ जनाले नाम दर्ता गरे पनि १८ जना धावकको सहभागिता रहेको थियो ।
टपरी बुन्ने र धुपबत्ती काट्ने प्रतियोगिता
यस्तै टपरी गाँस्ने प्रतियोगितामा टीकादेवी भट्टराई प्रथम, विष्णुमाया गिरी द्वितीय र दिलमाया तामाङ तृतीय हुनु भएको छ । प्रथम हुनेले नगद ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् भने, दोस्रो र तेस्रो हुनेले क्रमश २ हजार र १ हजार रुपैयाँ भएको बताइएको छ । यस्तै सहभागी हुने सम्पूर्णलाई २०० को दले सम्मान गरिएको छ । प्रतियोगितामा २२ जनाको सहभागी रहेको संयोजक मात्रिकादेवी प्रसाईले बताउनुभएको छ ।
![](https://i0.wp.com/radiokabeli.com/wp-content/uploads/2024/05/50106ef8-a2f6-4126-b39e-541f4394966b-485x768.jpg?resize=485%2C768&ssl=1)
यस्तै धुपबत्ती काट्ने प्रतियोगिताको पनि आयोजना गरिएको थियो । धुपबत्ती बाट्ने प्रतियोगितामा सुकमाया फुरुम्बु प्रथम, कृष्णमाया कार्की द्वितीय र राधिका खवास तृतीय भएका छन् । प्रतियोगिताका संयोजक अञ्जना कडरियाका अनुसार प्रतियोगितामा १७ जना सहभागी थिए।
नयाँ पुस्तालाई दैनिक जीवनमा आइपर्ने सीप पुस्तान्तरणको उद्देश्यसहित टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताउनु भएको छ ।
अन्तरपालिकास्तरीय (माध्यमिक तह) वक्तृत्वकला प्रतियोगितामा प्रथम भए फक्ताङ्लुङका टेक हाङ
अन्तरपालिकास्तरीय (माध्यमिक तह) वक्तृत्वकला प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका स्थिति सेवालुङ माविका टेक हाङ लिम्बू प्रथम हुनु भएको छ । ताप्लेजुङमा पर्यटनको सम्भावना र चुनौती शीर्षकमा सम्पन्न भएको उक्त प्रतियोगितामा वक्ता लिम्बूले ७१.३३ प्रतिशत अङ्क प्राप्त गर्दै प्रथम हुनु भएको हो ।
![](https://i0.wp.com/radiokabeli.com/wp-content/uploads/2024/05/4bfcaac1-09a6-4ec1-a6a0-c400db409239.webp?resize=720%2C514&ssl=1)
यस्तै द्वितीय र तृतीयमा क्रमश सिरिजङ्घा गाउँपालिकाको सिनाम माविकी लोजी थेवे र फुङ्लिङ नगरपालिकाको भानु माविकी विद्याता पोखरेल हुनुभएको छ । उहाँहरूले ७१ र ६८ अङ्क प्राप्त गरेका छन् । प्रतियोगिताको प्रथम लिम्बूले ८ हजार रुपैयाँ पाएका छन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
साथै प्रतियोगितामा सहभागि हुने प्रत्येकले जनही ३ हजार रुपैयाँ यातायात खर्च बापत प्राप्त गरेका छन् । प्रतियोगितामा ८ वटा गाउँपालिका र १ नगरपालिका गरी ९ वटा स्थानीय तहका विद्यालयहरूले सहभागिता जनाएका थिए ।
फुङलिङ–पाथीभरा साइकलयात्रा
महोत्सवको अवसरमा जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा भएको छ । पाथीभराको प्रचारप्रसारका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले गरिएको आयोजित साइकलयात्रामा धरानका १६ वर्षीय दीपसागर तामाङसहित १७ जना सहभागी भएको साइक्लिङ उपसमिति संयोजक तथा फुङ्लिङ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दुर्गा पालुङ्वाले जानकारी दिनुभएको छ ।
![](https://i0.wp.com/radiokabeli.com/wp-content/uploads/2024/05/444152358_2691702600999003_2268527437109762594_n.webp?resize=720%2C480&ssl=1)
सांस्कृतिक कार्यक्रम
सांस्कृतिक कार्यक्रम तर्फ पहिलो नेपाली तारा दीपक लिम्बू, राष्ट्रिय गायक प्रताप दास, रचना रिमाल, विरेन्द्र श्रेष्ठ लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहेको सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक उत्सव साँवाले जानकारी दिनु भएको छ ।
![](https://i0.wp.com/radiokabeli.com/wp-content/uploads/2024/05/443714155_122116430660286819_6515562954453303232_n-768x512.jpg?resize=720%2C480&ssl=1)
ताप्लेजुङको घरेलु उत्पादन तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन र विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको मूल आयोजक समिति सहसंयोजक तथा फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले जानकारी दिनुभएको छ । यस्तै महोत्सवमा कृषि प्रदर्शनी समेत भएको थियो । यसका लागि विभिन्न स्टलहरू राखिएको थियो ।
![](https://i0.wp.com/radiokabeli.com/wp-content/uploads/2024/05/444760631_414601304735844_3805970921896429322_n-768x576.jpg?resize=720%2C540&ssl=1)
प्रतिक्रिया