ताप्लेजुङ समाज नेपालले ल्होसार तथा बुबा सम्मान कार्यक्रम २०८० आयोजना गर्ने



प्रत्येक वर्ष नेपालीले मनाउने मौलिक चाड पर्वको रक्षा र ताप्लेजुङको सांस्कृतिक पहिचानको प्रचारका लागि ताप्लेजुङ समाज नेपालले काठमाडौंमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यस वर्ष भने फागुन ५ गते शनिबार ल्होसार पर्व २०८० आयोजना गर्ने तयारी भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले यसवर्ष बौद्ध संस्कृति परम्परा अनुसार ल्होसार पर्व मनाउने र सोही अवसरमा जेष्ठ नागरिक मध्ये बुबाहरूलाई सम्मान गरिने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ताप्लेजुङ ल्होसार २०८० का कार्यक्रम संयोजक रमेश बरालले भने, ‘ताप्लेजुङ समाज नेपालले हाम्रो जिल्लाको समाजिक विशेषतालाई काठमाडौंमा पनि जीवन्त राख्दै आएको छ । जिल्लावासीले मनाउने सबै खाले चाडपर्वहरूलाई समाजले बराबर व्यवहार गर्दै आएको छ । हरेक वर्ष हामीले ताप्लेजुङमा मनाइने एउटा एउटा चाडलाई जिल्लावासीको साझा चाडको रूपमा पालो–पालो गरी मनाउने गरेका छौं ।’

उनले यस वर्षको कार्यक्रममा ल्होसार पर्वसँगै सम्बन्धित खाद्य तथा पेय पदार्थबाट सहभागीहरूलाई स्वागत गरिने बताए । कार्यक्रम सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नको लागि हिमाली याक नाच, हिमाली सिंह नाच, च्याब्रुङ नाच, नौमति बाजा नाच, लाखे नाच लगायतका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छ । ‘कार्यक्रममा विभिन्न संस्कृतिमा आधारित ताप्लेजुङ फुड स्टलहरू राखिनेछ जसबाट ताप्लेजुङकै परिकारको स्वाद चाख्न र अनुभुति गर्न सकिनेछ,’ संयोजक बरालले भने ।

यस वर्षको कार्यक्रम पनि काठमाडौंको धुम्बाराही अवस्थित एसआर पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ । प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रममा यो पटक बिशिष्ट बौद्ध धर्मगुरु औतारी लामा च्याक्टुल रिन्पोछेनको समेत प्रमुख सान्निध्य गुरुको रूपमा उपस्थिति रहने छ ।

आयोजकका अनुसार बौद्ध संस्कृति परम्परा अनुसार ल्होसारको अवसरमा राजनेता र औतारी लामाबाट एकै ठाउँमा ल्होसारको शुभकामना आशीर्वाद ग्रहण गर्न पाउनु निकै दुर्लभ अवसर मानिन्छ । यसपटक रिन्पोछेनकै बाहुलीबाट कार्यक्रममा उपस्थित जिल्लावासीलाई खादा माला लगाएर ल्होसारको शुभकामना आशीर्वाद प्रदान गरिने बताइएको छ ।

सभामुख र रिन्पोछेनका हस्ताक्षरमा तयार पारिएको सम्मानपत्रबाट ताप्लेजुङका जेष्ठ नागरिकहरूलाई सभामुखले सम्मान गर्ने कार्यक्रम संयोजक देउमान विष्टले जानकारी दिए । बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम साँझसम्म नै सञ्चालन हुने उनले बताए । कार्यक्रममा विभिन्न संस्कृतिमा आधारित ताप्लेजुङ फुड स्टलहरू राखिने र यसबाट ताप्लेजुङकै परिकारको स्वाद चाख्न र अनुभुति गर्न सकिने विष्टले बताए ।

७० कटेका २१७ बुबाहरूलाई एकैपटक सम्मान गरिँदै
प्रत्येक वर्ष चाड पर्व मनाउने सँगै विभिन्न कार्यक्रम गर्दै आएको समाजले यसपटक भने ताप्लेजुङका ७० वर्ष माथिका २१७ जना बुबाहरूलाई सम्मान गर्ने तयारी गरेको छ । त्यसमध्ये केही १०० कटेका बुबाहरू पनि उपस्थित रहने ताप्लेजुङ समाजका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेश बरालले बताए ।

यस अघि सुरुवातमा ताप्लेजुङका सबै जाती एकै ठाउँमा भेला भई हिन्दु महिलाहरूको चाड हरितालिका तिज पर्व पनि समाजको संयोजकत्वमा काठमाडौंमा नै मनाइएको थियो ।

दोश्रो वर्ष भने सबै जाती एकै ठाउँमा भेला भएर किराँतहरूको चाड चासोक तङ्नाम उँधौली पर्व मनाइएका थियो । यस अघि भएका कार्यक्रममा आमाहरूलाई सम्मान गरिएको र यसपटक बुबाहरूलाई सम्मान गरिने संस्थाका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले बताए । ३५ वटा विभिन्न संस्थाको सहयोगमा यसपटक कार्यक्रम हुन लागेको र यसको भव्य तयारी भइरहेको तुम्बाहाम्फेले जानकारी दिए ।

ताप्लेजुङ समाज नेपाल कस्तो संस्था हो ?
ताप्लेजुङबाट काठमाडौं आएर विभिन्न क्षेत्रमा काम गरिरहेका र बसोबास गरेका जिल्लावासीहरूको साझा संस्था हो ताप्लेजुङ समाज नेपाल । जिल्लावासीको हरेक सुख दुखमा साथ रहने यो संस्था सामाजिक र सांस्कृतिक रूपले पनि सबैको साझा संस्थाको रूपमा स्थापित रहेको समाजका बरिष्ठ उपाध्यक्ष रमेश बराल बताउँछन् ।

यो संस्थाले ताप्लेजुङ जिल्लाको सामाजिक सांस्कृतिक पहिचानलाई सँधै जोगाइ राख्न त्यसलाई राजधानीमा समेत चिनाउँदै आएको छ । ताप्लेजुङलाई जिल्ला बाहिर तथा देश बाहिर समेत चिनाउने अभियानमा ताप्लेजुङ समाज नेपाल रहेको बराल बताउँछन् । भन्छन्, ‘बिविधतामा एकता ताप्लेजुङको सांस्कृतिक पहिचान हो । ताप्लेजुङमा हामी धेरै जाती बस्छौँ तर सबै मिलेर बस्छौ । जात धर्म भाषाले फरक फरक भए त पनि हामी सबै एउटै परिवारको नाता साइनो सम्बन्धमा मिलेर बसेका छौं । फरक फरक जातीमा पनि गाउँ घरमा बोलाउँदा परिवार भित्रैको नाता साइनो लगाएर बोलाउँछौ । यो हामी ताप्लेजुङेहरूको विशेषता हो ।’

उनका अनुसार ताप्लेजुङ समाज नेपालले जिल्लाको समाजिक विशेषतालाई काठमाडौंमा पनि जीवन्त राख्दै आएको छ भने जिल्लावासीले मनाउने सबै खाले चाडपर्वहरूलाई समाजले बराबर व्यवहार गर्दै आएको छ ।

अध्यक्ष तुम्बाहाम्फेले सबै जिल्लावासीहरुलाई ल्होसार तथा बुवा सम्मान कार्यक्रम तथा अन्य विविध कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्नका साथै ताप्लेजुङ बासीहरूमा भाइचारा विकासका लागि समेत आह्वान गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०६:२३

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता