दशैंको महत्व र यसका सामाजिक आयामहरु




ई. मानोलाक बुफाश्री (श्रेष्ठ)


ताप्लेजुङ । दशैं आम नेपालीको महान चाड हो । सत्यको जीत र असत्यको पराजयमा खुसीयाली स्वरुप मनाईने चाड हो यो दशै । नेपाल एक भौगोलिक साथै जातीय विविधता भएको मुलुक हो । जातीय विविधता सँगै साँस्कृतिक र मौलिक विविधता भएको संसारकै सुन्दर मुलुक हो नेपाल


२०७८ को जनगणना अनुसार नेपालमा १४२ विभिन्न जात, १२४ भाषा र विभिन्न १० वटा धर्म मान्ने जातजातिहरु नेपालमा बसोबास गर्ने गर्दछन । तराई, पहाड, हिमाल र संसारकै अद्भुत अनि अलौकिक मुलुक हो यो सुन्दर देश नेपाल । भगवान बुद्धको जन्म भएको देश, देवादी देव महादेव जसले अत्यन्तै मन पराएको स्थान कैलाश पर्वत अनि हजारौं शिवालय, मन्दिर, मस्जिद र चर्चहरुले सुसज्जित देश, माता सीताको देश नेपाल ।


यस्ता अद्भुत, अलौकिक अनि पवित्र भुमी नेपालको बुहारी भएर बस्न अनि यहि पवित्र भुमिमा आफ्नो अन्तिम श्वास लिने गौरव र सोको कारण मेरो जीवनले पाउने अन्तिम मोक्ष प्राप्तिको कामना गरेकी छु । म नेपाली अक्षर सामान्य पढ्न सक्छु, सबै साहित्यिक शब्द बुझाईमा मेरो दक्षता नपुग्न सक्छ ? तर सुनेको कुराको अर्थ बुझ्न सक्छु र नबुजेको शब्दको अर्थ खोजेर बुझ्ने प्रयत्न गर्ने गरेकी छु ।


विजया दशमीको भावना र यो चाड सम्बन्धि उठेका प्रतिप्रस्नहरु पनि मैले केलाउने प्रयत्न गरेकी हुँ तर मेरा खोज अपुर्ण हुन सक्ने अवस्थामा छन किनकी यो चलन निकै पौराणिक र दस्तावेजको रुपमा खासै कँहि नभेटिने हुदो रहेछ ।

रामले रावण माथीको विजय वा माता दुर्गाले महिशाषुरको बध गरे पछि सत्यको विजय ठानी उत्सबको रुपमा मनाईएको भन्ने महिमा छ दशैको । केही अभियान्ताहरु रावण र महिशाषुरलाई राक्षस कुलको मान्छन तर स्वयं रावण भने महर्षी पुलत्स्यका नाति हुन भने महिषाशुर महर्षी कश्यपका नाति हुन । उनिहरु ऋषि कुलका हुँदाहुँदै पनि श्रापको कारण तीन जुनि सम्म राक्षसि जीवन बिताएको कथा पढेकी छु ।


यो समाजमा केही अभियान्ताले रावण र महिशाषुरलाई राक्षसको रुपमा लिएका छन । राक्षस भनेको के हो ? के हरेक बाहुन जातको परिवारमा जन्मेकाहरु ब्राह्मण हुन सक्छन ? के बाहुन जातको परिवारमा जन्मेकाहरु राक्षस बन्न सक्दैनन ? यो आफैमा अत्यन्तै ठूलो विवादास्पद बिषय हो ।

एक राईको कुलमा जन्मिएका र निकै ठूलो उमेर सम्म अर्काको गोठालो भएर हिडेका काले राई “स्वामी प्रपन्नाचार्य“ बने । मेरो घर छेउमा उपाध्य बाहुन ढकालको मासु पसल छ । उनको मासु पसल काठमाडौं उपत्यकामा निकै प्रख्यात बनेको छ । थुप्रै बाहुन जातका भाईहरु मेरो कम्पनीमा फलामको काम गर्छन तर फलामको काम गर्ने केही दशक अगाडी सम्म केही बिशेष समुदाय थियो ।


आज जातजाति केवल साङ्केतिक रुपमा लिईनु मनासिव देखिन्छ किनकी ब्यक्ति ब्यक्तीमा आआफ्नै गुण अनि दोषहरु हुने गर्छन अनि आफ्नो बाबुआमा असल वा खराव जे भए पनि उहाँहरु जहिले पनि मेरै बाबू आमा हुनुहुनेछ भन्ने मान्यता र कोडिङ गर्न सरलता होस भन्ने हेतुले जातको ट्याग सरकारले भिराएको हुन सक्छ ।

राक्षस भन्दैमा उ समाजको नराम्रो मानिस वा बर्गमा पर्ने कदापी हुनै सक्दैन । बिध्वत हँुदाहुदै पनि रिसाहा, बलाहा, कौटिल्य हुनु राक्षसको सामान्य परिभाषा हो । समाज सबै खाले बर्ग र समुदायका ब्यक्ति र बिशेषताले निर्माण हुने भएको हुँदा एउटा जात बिशेषलाई एउटा वर्गमा जोखिनु नै भुल हो ।


जस्तो कि ढकाल बाजे मासु ब्यापारी हुन, बाहुनको कोखमा जन्मिए तर ब्राह्मण हैनन तर काले राई एक किराँतको कोखमा जन्मिए तर ब्रह्माण्ड बने । म २०५३ साल असोजमा एक बुहारीको रुपमा नेपाल आएकि हुँ । महान चाड दशैकै संघारमा नेपाल आईपुगेकी, त्यसमाथी ताप्लेजुङको सिनाममा मेरो श्रीमानको घरमा पुग्दा, धेरै नै नौलो अनुभुति हुनु कुनै नया बिषय नै थिएन ।


हरेक बिषय, ब्यक्ती र सन्दर्भहरु मेरा लागि नौलो हुन्थे किनकी मेरो माईती लाओस, एक बृहत्तर सङ्ख्या बुद्ध धर्ममा आस्था राख्ने भएको र लामो समय आफ्नो पढाईको लागि सोभियत सङ्घमा बिताएर अर्मेनिया भन्ने देशबाट नेपाल आएकी थिए ।


दशैँको समयमा घरमा जमरा राख्ने कार्य, प्रत्येक दिन जमरा राख्ने ठाउँमा पुजा गर्ने कार्य, फुलपातीको दिन बिहान बलि दिई घरमा युमा महारानीको पुजा गर्ने कार्य, अष्ठमीको दिन सांझ देखि घरमा भात नपकाउने÷ भात नखाने, भातको ठाउँमा चिउरा खाने र भोज सुरु गर्ने, नवमीको दिन दुर्गा भवानीलाई कुभिण्डो (राँगोको प्रतीक) आदिको बलि दिई पुजा गर्ने, दशमीको दिन विविध पुजाको साथै कुल यानेकी भिमसेनको पुजा उ बेला हजुरबुबाले बोकाकै बलि चढाउनु भएको थियो ।


मेरो माईतिमा पशु बलि दिने कार्य नहुने भएता पनि आफ्नो आफ्नो सस्कार सँस्कृती अनुरुपले आफ्नो चलन चलाउनु आफैमा सुन्दर सँस्कार भएको मेरो बुझाई हो । दशमीको दिन साईत अनुसार, घरको सबै भन्दा जेष्ठ सदस्य हाम्रा हजुरबुवा केवलमान श्रेष्ठले जेष्ठताको आधारमा आशिर्वाद, प्रसाद अनि दक्षिणा दिदै रातो अक्षताको टीका निधार भरि लगाईदिनु भयो ।


त्यसपछी मेरो ससुरा सासुले हामिलाई र मेरो श्रीमान परिवारको जेठो छोरो भएकोले, उहाँ र मैले भाई बहिनी, छोरो र भान्जा भान्जीलाई टीका आशीर्वाद दिदै गयौँ । पहिलो पटक टीका लगाईदिँदा मेरा हातले अक्षता टिपेर ढंगले निधारमा लगाईदिन सकेको थिर्इँन । तर यो सँस्कार कति पवित्र छ ? जसले परिवार, आफन्त अनि समाजलाई कति अखण्डित बनाईरहेको छ सो को सहज अनुमान हामी लगाउन सक्छौ ।


जसको ज्वलन्त उदाहरणहरु भनेकै शहर बजार र बिदेशबाट समेत दशैंमा परिवारको साथ हुन नेपाल आउनु । समाजमा सेतो टीका र रातो टीकाको बिषयमा निकै टिप्पणी गरेको समेत पाएकी छु । दशैंमा सेतो टीका लगाउने चलन आम नेवार समुदायको समेत रहेको बुझिएको छ । अझै पनि केही जात जाती र बिशेषत लिम्बू समुदायले दशैमा र अन्य पर्व, चाड र समारोहमा सेतो टीका नै लगाउने आम चलन रहिआएको छ ।


२०५३ साल देखि यता एकाध पटक माईती लाओस जानू र केही देशका भ्रमणमा जानू बाहेक सम्पुर्ण रुपमा म यो मुलुक नेपालमै बसिरहेकि छु । हरेक जात जातिका आफ्ना मौलिक चाड पर्वहरु छन् । ती मध्ये कति चलनमा छन भने कतिपय जातजातिका चाड पर्वहरु चलनचल्तीमा आएका नहोलान् ?


यो मुलुकको जातीय सद्भावलाई सुक्ष्म नियाल्ने हो भने, नेवार जातले मनाएको क्वाटी पर्व, लिम्बू जातको बलिहाङ तङ्नाम, विभिन्न जातजातिको शुभ दिपावली, माघी पर्व, छैठ, उधौली, उभौली, साउने सक्रान्ती, असार १५, साउन १५, तिज आदि सबै पर्वहरु हरेक नेपालीको आफ्नो पर्व बनिसकेका छन् ।


जातीय सद्भाव भनेको कुनै पनि मुलुकको विकास र प्रगतिको लागि चाहिने मुख्य शक्ति हो । यदि एकादेशका जातजाती बिचमा मेरो तेरो भन्ने पैदा हुन गै जातिय अखण्डता भंग हुन गएमा हाम्रो जस्तो सुन्दर अनि शान्त मुलुक, हालको ईज्रायल र प्यालेस्टाइन जस्तो नहोला भन्न सकिन्न ।

एकले अर्काको अस्तित्व नस्विकारी जसको शक्ति उसको भक्ती हुन गएमा नेपाल जस्तो बहुल जात र बहुल धर्म र बहुल अस्तित्व बोकेको मुलुकको बिकास र समृद्धिको सपना तुहिनु मात्र हैन आम नेपालीहरु अहिले गाजा क्षेत्रमा भोक तिर्खा रोगलाई बिर्सिनु परेका आम प्यालेस्टाइन जस्तो अवस्थामा पुग्ने दिन आउन सक्छ ?

त्यसैले समस्त नेपाली आम दाजु भाई दिदिबहिनीहरुलाई यस्तो बहु आयामिक चाड हर्षोल्लासका साथ मनाउन, रम्न अनि रमाउन आग्रह गर्दछु । देशबिदेशमा रहेका आम नेपालीलाई बडा दशै २०८० को मंगलमय शुभकामना अर्पण गर्दै माता भवानीले सबैको कल्याण गरून् भन्ने प्राथना गर्दछु ।

लेखकको परिचयः
लाओसमा जन्मिई सोभियत सङ्घबाट ईन्जिनियरिङमा उच्च शिक्षा हाँसिल गरेकी नेपालकि बुहारी “ई. मानोलाक बुफाश्री (श्रेष्ठ)“ नेपालको जलविद्युत बिकासमा लामो समय देखि कार्यरत छन् । प्राकृतिक स्रोतमा अत्यन्तै धनी
भएपनि मुलुकका ब्यबस्थापकहरु (राजनीति र राजनीतिज्ञ) असल र दक्ष नभैदिँदा मुलुकले यथोचित प्रगती गर्न नसकी भ्रष्टाचार र बेथितीको चङ्गुलमा फसेको बताउँछिन् । जनता सचेत हुने दिन आएको हुने क्रममा रहेकोले चाँडै मुलुकले सकारात्मक परिवर्तनको पाटो देख्नेमा ढुक्क छिन उनी ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  २ : २२ बजे

फुङलिङ नगरपालिका-६ का विद्यार्थीहरुले पाए हाउस बुक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ का विद्यार्थीहरुलाई हाउस बुक

पाथीभरामा वैशाखमा ६८ लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा वैशाख महिनामा

ताप्लेजुङमा अनिश्चितकालीन यातायात बन्द : यात्रु मारमा

ताप्लेजुङ । पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ आजबाट सुरु 

ताप्लेजुङ । ताप्लेजुङमा आजबाट ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सुरु भएको

यातायात बन्दले जनजीवन प्रभावित

ताप्लेजुङ। मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा गरिएको यातायात बन्दले