सौगात बिष्ट
ताप्लेजुङ, मङ्सिर १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभित्रका उद्यमी तथा उद्यम गर्न इच्छुक व्यक्तिका लागि दुई लाख देखि पाँच लाख रुपैयाँ सम्म अनुदन दिने भएको छ । स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्दै रोजगारी सिर्जना तथा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले उद्यमी तथा उद्यम गर्न इच्छुक व्यक्तिका लागि अनुदान उपलब्ध गराउने भएको हो।
गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत नवप्रवर्तनमा आधारित अध्यक्ष स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ अनुसार व्यक्तिगत उद्यमलाई दुई लाख रुपैयाँसम्म तथा सामूहिक र साझेदारी उद्यमलाई पाँच लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो।
उद्यमशीलता विकास गरी स्थानीय स्रोत, सीप र प्रविधिको अधिकतम उपयोग गर्ने लक्ष्यसहित पालिका क्षेत्रभित्र रहेका बेरोजगार तथा वैदेशिक रोजगारीबाट फर्केका युवा, महिला, दलित, जनजाति तथा विपन्न वर्गलाई रोजगारीमा प्रत्यक्ष जोड्ने उद्देश्ले कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाले जनाएको छ। जसअन्तर्गत कृषि तथा पशुपालन, पर्यटन, सूचना प्रविधि तथा डिजिटल सेवा, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
कृषि तथा पशुपालनतर्फ अर्गानिक खेती, अलैँची तथा अदुवा प्रशोधन, च्याउ खेती, पशुपन्छीपालन, माछापालन, मौरीपालन, जडीबुटी खेती तथा स्थानीय उत्पादनबाट जुस र क्यान्डी निर्माण एवं प्रशोधनलगायतका उद्यमलाई प्राथमिकता दिइनेछ। उत्पादनमूलक क्षेत्रतर्फ बाँस, निगालो तथा अल्लोबाट हस्तकला निर्माण, खाद्य प्रशोधन र डेरी उद्योग रहेका छन। यस्तै,सेवामूलक क्षेत्रअन्तर्गत मर्मतसम्भार केन्द्र, कृषि प्रविधि सेवा, नवीकरणीय ऊर्जा जडान तथा पशु प्राविधिक सेवालाई समेटिएको छ।
यसैगरी, पर्यटनतर्फ होमस्टे, स्थानीय हस्तकला तथा संस्कृति पर्यटन र सूचना प्रविधितर्फ डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन तथा स्थानीय उत्पादनको अनलाइन बजारीकरणसम्बन्धी उद्यमलाई प्रोत्साहन गरिने सूचनामा उल्लेख छ।
अनुदानका लागि मैवाखोला गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने नेपाली नागरिक, अन्य निकायबाट सोही प्रकृतिको अनुदान नलिएका, व्यवसाय दर्ता गर्न इच्छुक वा दर्ता भएका व्यक्ति तथा उद्यमी समूहले आवेदन दिन सक्नेबताइएको छ।
गाउँपालिकालाई बुझाउनुपर्ने कर तथा बक्यौता नरहेको र एक घरबाट एक जनालाई मात्र प्राथमिकता दिइने व्यवस्था गरिएको छ।
योग्यता पुगेका व्यक्ति, फर्म तथा उद्यमी समूहलाई आगामी मंसिर २५ गतेभित्र गाउँपालिकाको कार्यालयस्थित रोजगार शाखामा आफ्नो व्यावसायिक प्रस्ताव पेस गर्न गाउँपालिकाले अनुरोध गरेको छ।






प्रतिक्रिया