खेबाङमा आजदेखि खेलकुद महोत्सव



ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आजदेखि खेलकुद महोत्सव सुरु हुँदै छ । खेबाङ स्पोर्टिङ क्लबको आयोजनामा कात्तिक २१ गतेसम्म छ दिन सञ्चालन हुने महोत्सवमा फुटबल, भलिबल र हाफ म्याराथनलगायत प्रतियोगिता आयोजना हुने भएका छन् ।

क्लबका अध्यक्ष बिनम मावोका अनुसार विगतका वर्षमा खेबाङ गोल्डकप सञ्चालन हुँदै आएकोमा यस वर्षदेखि विभिन्न खेल विधा समेटेर महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा खुला पुरुष फुटबल, वडास्तरीय पुरुष तथा महिला भलिबल र हाफ म्याराथनसँगै सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुनेछन् ।

‘सिरिजङ्गाको गौरव कञ्चनजङ्घा, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा खुला पुरुष फुटबलतर्फ आठ टोली सहभागी हुनेछन् । फुटबलको पहिलो खेलमा मंगलबार नेना कम्पनी प्रालि खेबाङ र सिदिङ्वाको आङ्खोप युवा समाजबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कञ्चनजङ्घा स्पोर्टिङ क्लब याम्फुदिन र पेदाङ स्पोर्टिङ क्लबबीच खेल हुनेछ ।

त्यस्तै, कात्तिक १८ गते तेल्लोक स्पोर्टिङ क्लब र सुरुम्खिमको लालीगुराँस स्पोर्टिङ क्लब तथा कात्तिक १९ गते आयोजक खेबाङ स्पोर्टिङ क्लब र झापाको आरएसएस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि सेमिफाइनलका खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटनकै दिन आज पुरुष भलिबल प्रतियोगितासमेत सुरु हुनेछ । पहिलो खेल बिहान १० बजे आङ्खोप र आम्बेगुदिनबीच हुनेछ । त्यसपछि तेल्लोक र खेबाङ, खेबाङ र मामाङ्खे तथा मेहेले र पेदाङबीच खेल हुने तालिका छ । प्रतियोगितामा सुरुम्खिम र थुम्बेदिनका टोलीले पनि सहभागिता जनाउनेछन् ।

खुला पुरुष फुटबलको विजेताले एक लाख ५५ हजार ५८३ र उपविजेताले एक लाख पाँच हजार ५८३ रुपियाँ पुरस्कार पाउनेछन् । पुरुष भलिबलको विजेता र उपविजेताले क्रमशः ६० हजार र ४० हजार तथा महिला भलिबलको विजेता र उपविजेताले ३० हजार र २० हजार रुपियाँ प्राप्त गर्नेछन् ।

हाफ म्याराथनमा प्रथम हुनेले ३३ हजार ३८३, द्वितीयले २२ हजार ३८३ र तृतीयले १३ हजार ३८३ रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा दशौँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

खेबाङलाई पर्यटनसँग जोड्दै स्थानीय क्षेत्रको प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष मावोले बताउनुभयो । महोत्सव सम्पन्न गर्न करिब २५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । स्थानीय तह, जलविद्युत् आयोजना तथा देश–विदेशमा रहेका खेलप्रेमीबाट प्राप्त सहयोगका आधारमा महोत्सव सञ्चालन गरिने क्लबले जनाएको छ ।

प्रकाशित मिति : 6:21 am

खेबाङमा आजदेखि खेलकुद महोत्सव

ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आजदेखि

ख्रीष्टियन लिम्बु समाज ताप्लेजुङद्धारा दोभान आगलागीपीडितलाई सिरक वितरण

ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको