ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि विभिन्न छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले प्रशिक्षक पदपूर्तिसम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो ।
गाउँपालिकाले भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु खेलका लागि एक–एक जना प्रशिक्षक नियुक्त गर्ने जनाएको छ । नियुक्त हुने प्रशिक्षकको करार अवधि तीन महिना रहनेछ ।
प्रशिक्षक पदका लागि नेपाली नागरिक, २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको तथा निरोगिताको प्रमाणपत्र भएको हुनुपर्नेछ । सम्बन्धित खेल विधामा खेल प्रशिक्षक तालिम लिएको प्रमाणपत्रसमेत आवश्यक पर्ने सूचनामा उल्लेख छ । पाथीभरा याङवरक गाउँपालिकाका स्थानीय बासिन्दालाई प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष केशर मेन्याङबोले बताउनुभयो ।
प्रशिक्षक छनोट अन्तर्वार्तामार्फत गरिनेछ । आवेदन दस्तुर पाँच सय रुपियाँ तोकिएको छ । इच्छुक उम्मेदवारले नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, सम्बन्धित खेलको प्रमाणपत्र र पासपोर्ट साइजको फोटोसहित आवेदन दिनुपर्नेछ ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् असोज १४ गते साँझ ५ बजेसम्म आवेदन बुझाउन गाउँपालिकाले आह्वान गरेको छ । आवेदन शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्नेछ ।
गाउँपालिकाका अनुसार प्रशिक्षकलाई गाउँपालिकाले तोकेबमोजिम पारिश्रमिक उपलब्ध गराइनेछ । प्रतियोगितालाई लक्षित गरी खेलाडीको प्रशिक्षण तथा तयारीलाई प्रभावकारी बनाउन प्रशिक्षक नियुक्त गर्न लागिएको हो ।






प्रतिक्रिया