ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सलहेश र पाँचथरबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार हुने फाइनल खेलमा साविक विजेता सलहेश युवा क्लब सिराहा र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबिच प्रतिस्पर्धा हुने भएको हो ।
मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा अन्तराष्ट्रिय टोली भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सलहेश फाइनल प्रवेश गरेको हो । यता बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै पाँचथर फाइनलमा प्रवेश गरेको हो ।
फाइनल खेलाका लागि दुवै टिम तयारी अवस्थामा रहेको बताइएको छ । विहीबार आयोजक लाखेजात्रा सञ्चालन समितिको कार्यालयमा सम्पन्न पत्रकार सम्मेलन मार्फत फाइनलका लागि दुवै टिम तयारी अवस्थामा रहेको जानकारी गराइएको हो । साविक विजेता सलहेश पुनः उपाधि आफ्नो पक्षमा पार्ने होडमा छ भने पहिलो पटक ताप्लेजुङ गोल्डकपमको फाइनलमा पुग्न सफल पाँचथर इतिहास रच्ने दाउमा छ ।
भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको थियो । खेल शुक्रबार दिउसो दुई बजेबाट सुरु हुने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।
लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । योसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाईसमेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । यस्तै, भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने छन् ।






प्रतिक्रिया