ताप्लेजुङ, भदौ १४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सातदोबाटो र डिफेन्डिङ च्याम्पियन सलहेश युवा क्लब सिराहाबिच भिडन्त हुने भएको छ । आइतबार तेस्रो क्वाटर फाइनल खेलमा सातदोबाटो फुटबल क्लब ललितपुर र साविक विजेता सलहेश युवा क्लब सिराहाबिच भिडन्त हुने भएको हो ।
आइतबारको खेललाई निक्कै रोचकरुपमा हेरिएको छ । दुवै टिममा ‘ए’ डिभिजन खेलिसक्नु भएका खेलाडी र अन्तराष्ट्रिय साथै राष्ट्रिय खेलाडीको सहभागिता रहने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभएको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलबाट फिदिम स्पार्टिङ क्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ ।
चित्लाङ फुटबल क्लब काठमाडौंलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै पाँचथर फाइनलमा प्रवेश गरेको हो । यस्तै शुक्रबार भएको उद्घाटन खेलमा आयोजक–११ ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लबले पनि सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।
फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा भदौ १९ गतेसम्म सञ्चालन हुने खेलमा आठ वटा टिमको सहभागिता रहेको छ । सोमबार झापा–११ र नेपाल पुलिस क्लबबिच भिडन्त हुने छ ।
लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने लाखेजात्रा सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने छ । योसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाईसमेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
यस्तै, भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने छन् ।






प्रतिक्रिया