ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक पाँचथरले हात पारेको छ । मङ्गलबार भएको फाइनल खेलमा साथीभाइ सामाजिक युवा क्लब फुङलिङलाई ४–२ गोल अन्तरले पराजित गर्दै पाँचथरले उपाधि हात पारेको हो ।
उपाधि सँगै पाँचथरले नगद तीन लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै दोस्रो हुन सफल साथीभाइले नगद एक लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कप अनतरगतको फाइनल खेलमा म्यान अफ दि म्याच पाँचथरका सुशील लावती हुनुभयो । उहाँलाई नगद दुई हजार रुपियाँले पुरस्कृत गरिएको छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी साथीभाइका जमिन लक्सम हुनुभएको छ । उहाँलाई नगद आठ हजार रुपियाँ प्रदान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट गोल किपर पाँचथरका रोचक लावती, उत्कृष्ट डिफेन्डर साथीभाइका धर्मेन्द्र मगर र सर्वाधिक गोलकर्ता पाँचथरका लोकेन्द्र थापा हुनुभएको छ । उहाँहरूलाई जनही नगद चार/चार हजार रुपियाँ प्रदान गरिएको खेल संयोजक विश्व नाल्बोले बताउनुभयो ।
सोमबार भएको सेमिफाइनल खेलमा साथीभाइले लालिमा युवा क्लब ढुङ्गोसाँघुलाई ३–० गोल अन्तर र कुम्मायक कुसायकले प्रगतिशील युवा क्लब आयोजक रातोलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङ्गामले जानकारी दिनुभयो ।
गत माघ ९ गते बसन्त पञ्चमीको दिनदेखि सुरु भएको गोल्डकप मङ्गलबार सम्पन्न भएको हो ।






प्रतिक्रिया