ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपको उपाधिका लागि आज साथीभाइ सामाजिक युवा क्लब फुङलिङ र कुम्मायक कुसायक पाँचथरबीच प्रतिस्पर्धा हुँदै छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपको फाइनलमा साथीभाइ र पाँचथर भिड्ने भएको हो ।
सोमबार भएको सेमिफाइनल खेलमा साथीभाइले लालिमा युवा क्लब ढुङ्गोसाँघुलाई ३–० गोल अन्तर र कुम्मायक कुसायकले प्रगतिशील युवा क्लब आयोजक रातोलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । तुलसी स्मृति प्रतिष्ठान खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताका विजेता टिमले तीन लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले एक लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ४ हजार रुपियाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई आठ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको हो ।
प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपियाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।






प्रतिक्रिया