ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो कञ्चनजंघा (सेसेलुङ) गोल्डकप अन्तर्गत आज मोरङ र इलाम भिड्दैछन् । प्रतियोगिताको क्वार्टरफाईनलको दोश्रो दिन आज मोरङको डाँगीहाट फुटबल क्लब बेलबारी र इलामको रेड डेभिल्स माईजोगमाईबीच प्रतिष्पर्धा हुने भएको हो ।
दुवै टीम बिजयी प्राप्त गर्दै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रँदैछन् । हिजो भएको उद्घाटन खेलमा आयोजक कञ्चनजङ्घा फुङलिङ क्लबलाई पराजित गर्दै तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवै टीमले २–२ गोलको बराबरी खेलेसँगै खेलको विजेता ट्राइबेकरबाट चुनिएको हो । ट्राइबेकरमा आयोजकलाई १०–९ गोलअन्तरले पराजित गर्दै तेह्रथुमको साम्दु फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ ।
अब तेह्रथमुले भोलि हुने क्वाटर फाईनलको तेश्रो खेलको बिजेतासँग सेमिफाईनलमा प्रतिष्पर्धा गर्नेछ । भोलिको खेलमा सुनसरीको गोधुली फुटबल क्लब धरान र भारतको कञ्चनजंघा फुटबल क्लब सिलिगुढीबीच आमनेसामने हुँदैछ ।
त्यस्तै क्वाटरफाईनलको अन्तिम दिन मंगलबार झापाको न्यु स्टार क्लब बिर्तामोड र पाँचथरको फिदिम स्पोर्टिङ क्लब खेल्दैछन् । यो टिमको बिजेताले आज हुने खेलको बिजेतासँगको भेट सेमिफाईनलमा पक्का गर्नेछ ।
प्रतियोगिताको बिजेताले नगद ३ लाख ५२ हजार ८१ रुपैयाँ र उपबिजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा म्यान अफ दि म्याच बन्ने खेलाडी र खेल अवधि भरि विभिन्न बिधामा उत्कृष्ट बन्नेलाई समेत उचित नगद पुरस्कारको व्यबस्था गरिएको छ ।
चासोक तङनामको अवसरमा शनिबारबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गतेसम्म जारी रहने छ । चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।
मंसिर २१ गतेका दिन जातिय नृत्य प्रस्तुत, स्थानीय तथा राष्ट्रिय कलाकारका साथमा बृहत साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । गायिका शान्तिश्री परियार, झुमा लिम्बू लगायतको प्रस्तुति रहनेछ ।
सेमिफाईनलसम्म खेल अवलोकनका लागि १ सय रुपैयाँ र साँस्कृतिक कार्यक्र तथा फाईनल खेलका लागि २ सय रुपैयाँ टिकट दर आयोजकले निर्धारण गरेको छ । प्रतियोगिताको पहिलो दिन हिजो २३ हजार ३ सय रुपैयाँको टिकट बिक्री भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया