ओलाङ्चुङगोला पुग्न सहज




ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहुँच पुगेसँगै ओलाङचुङ्गोला पुग्न सहज भएको हो ।

ओलाङ्चुङगोलाान सडक पुगेसँगै स्थानीय खुसी भएका छन् । विगत वर्षमा सदरमुकाम फुङ्लिङबाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो । बिस्तारै तमोर कोरिडोर सडकको ट्रयाक खुलाउने कार्यसँगै ओलाङ्चुङगोला पुग्न सहज हुँदै गएको थियो । केही समयअघिसम्म इलाडाँडासम्म यातायात पुग्ने गर्दथ्यो । इलाडाँडाबाट पैदालमार्ग हुँदै एक दिनमा ओलाङ्चुङगोला पुग्ने गरिन्थ्यो । अहिले भने गाडी ओलाङ्चुङगोलासम्म नै पुग्ने गरेको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामाले बताउनुभयो । लामाका अनुसार ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट करिब सात घण्टामा ओलाङ्चुङगोला पुग्न सकिने बताउनुभयो ।

ओलाङ्चुगोला क्षेत्र हुँदै टिप्ताला नाका क्षेत्र, पर्यटकीय क्षेत्र सिङ्जेमा ताल क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायीको भनाइ छ । ओलाङ्चुङगोला हुँदै ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न निस्कनेका लागि समेत सहज भएको छ ।

तमोर कोरिडोरले ओलाङ्चुङगोला हुँदै छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्रयाक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले ओलाङ्चुङगोला हुँदै चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरी भएको सडकका रूपमा लिने गरिएको छ । तमोर कोरिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्रयाक निर्माण सुरु भएको थियो । कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्रयाक निर्माण सुरु भएको छ वर्षपछि मात्र काम सम्पन्न भएको हो ।

निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्रयाक निर्माण सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिप्तालालाई सडकले जोडेको छ । उहाँका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलबाट ओलाङ्चुङगोलातर्फ ३७ किलोमिटर दूरी बराबर ट्रयाक निर्माण गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो । उत्तर–दक्षिण ९सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला० सडक योजना कार्यालयमार्फत ट्रयाक निर्माण भइरहेको छ । ओलाङ्चुङगोलाबाट टिप्तालानाकासम्म ट्रयाक जोडिए पनि पहिले निर्माण भएको टिपतालासम्मको करिब २४ किलोमिटर दूरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनः निर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो । टिप्तालाबाट ओलाङ्चुङगोला हुँदै जङ्गिन नजिकसम्म स्थानीयवासीले रकम सङ्कलन गरी ट्रयाक निर्माण गरेका थिए । ओलाङ्चुङगोला बस्ती, मौवाटार–टिप्तालासम्म सडक मर्मत तथा पुनः निर्माण गर्न करिब दुई महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ ।

ओलाङ्चुगोलाबाट टिप्तालासम्म भने ट्रयाक मर्मतका साथै पुनः निर्माणको काम सम्पन्न भएपछि हिउँद मौसमभर यातायात सञ्चालन हुनसक्ने बताइएको छ । वर्षात्का समयमा भने तमोर नदीसहित दर्जनौँ अन्य साना–ठुला खोलामा पुल आवश्यक पर्ने भएकाले मोटर गुड्ने पुल निर्माण नभएसम्म यातायात सञ्चालन नहुने सडक योजनाले जनाएको छ ।

नेपाल, भारत र चीन जोड्ने सडक भएकाले तमोर कोरिडोरलाई त्रिदेशीय सडकमार्ग पनि भन्ने गरिएको छ । भारतसँगको सिमाना विराटनगरको रानीबाट धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङ्लिङ–ओलाङ्चुङगोला–टिपतालासम्म सडकको दूरी दुई सय ९९ किलोमिटर रहेको बताइएको छ ।

कोरिडोर सडकअन्तर्गत रानीदेखि मूलघाटसम्म कालोपत्र भइसकेको र मूलघाटबाट सुभाङखोलासम्म कालोपत्र गर्ने क्रम जारी रहेको छ । बाँकी सडकमा पनि स्तरोन्नति र स्तरवृद्धिको काम निरन्तर अघि बढ्ने उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला )सडक योजनाले जनाएको छ । रासस

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ११ : ३० बजे

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि

काठमाडौं । नेपाल सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँको नोटमा

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन्

एमाले र कांग्रेसको बिचमा सरकार बनाउने कुरा पछाडि परिसक्यो : योगेश भट्टराई 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि

मुद्दा फिर्ता लिन नमानेपछि छात्रामाथि गोली प्रहार

काठमाडौं । झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार