ताप्लेजुङको पाथीभरा क्षेत्रमा भरियाको काम गर्दै आएकाहरूको प्रमाणीकरण गरिने



ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा भरियाको काम गर्दै आएकाहरूको प्रमाणीकरण गरिने भएको छ । पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको सहजताका लागि भरिया अर्थात् सशुल्क स्वयंसेवकको काम गर्दैआएका जनशक्तिको प्रमाणीकरण गरिने भएको हो ।

पाथीभराको दर्शनलाई थप व्यवस्थित र सहज बनाउने उद्देश्यले भरियाको प्रमाणीकरण गर्न लागिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भरियाको सुविधा लिन चाहने तीर्थयात्रीको सहजताका लागि भरियाको प्रमाणीकरण गरिने भएको हो ।

प्रमाणीकरण भएका भरियामार्फत तीर्थयात्रीले सुविधा लिएमा मात्र उनीहरूको यात्रा सहज र भरपर्दो हुने निष्कर्षसहित समितिको बैठकले भरियाको प्रमाणीकरण गर्नुपर्ने निर्णय गरेको हाङ्बाङले जानकारी दिनुभयो । समितिको निर्णयअनुसार १०० जना भरिया प्रमाणीकरण गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

भरियाका लागि पाथीभरा क्षेत्रअन्तर्गत फुङलिङ नगरपालिका –१० फुरुम्बु, वडा ११ फावाखोला, फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिम, वडा ५ तापेथोक र सिरिजङ्घा गाउँपालिका –३ सिकैँचाका बासिन्दालाई प्राथमिकता दिने समितिले जनाएको छ । प्रमाणीकरण भएका जनशक्तिलाई समितिले परिचयपत्र उपलब्ध गराउने र उनीहरूले मात्र भरियाको काम गर्न पाउने बताइएको छ ।

भरियाको काम गर्न प्रमाणीकरण हुनलाई करिब ३०० जनाले आवेदन दिएका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अहिले पाथीभरा दर्शन गर्ने सिजन (मौसम) भएकाले प्रमाणीकरणको काम तत्कालका लागि स्थगित गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो । पाथीभरा दर्शनको मुख्य सिजन सकिएपछि समितिको कार्यविधिअनुसार भरियाको काम गर्ने जनशक्तिको प्रमाणीकरण गरी परिचयपत्र उपलब्ध गराइने उहाँको भनाइ छ ।

हाल पाथीभरा क्षेत्रमा करिब ३०० बढी जनशक्तिले भरियाको काम गर्दैआएका बताइएको छ । सो जनशक्तिले काफ्लेपाटीदेखि तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा धामसम्म भरियाको काम गर्दैआएका छन् । उनीहरूले तीर्थयात्रीको सामानदेखि पदयात्रा गर्न (हिँड्न) नसक्ने तीर्थयात्रीलाई बोकेर भरियाको सुविधा दिने गरेका छन् । विभिन्न सामान वा तीर्थयात्रीलाई बोकेर भरिया सुविधा दिएबापत प्रतिकिलोग्राम १०० रुपियाँ एकतर्फी भाडा लिने गर्दछन् ।

यता भरिया काम गर्ने जनशक्तिको सङ्ख्या धेरै भएपछि भरियाको सुविधा दिनमा कुनैबेला अस्वच्छ प्रतिस्पर्धा हुने गरेको जनगुनासो आएकाले पनि प्रमाणीकरण गर्न लागेको समितिले जनाएको छ । अस्वच्छ प्रतिस्पर्धाका कारण तीर्थयात्रीको यात्रा असहज र जोखिम हुनेतर्फ ध्यान दिँदै भरियाको काम गर्नेको सङ्ख्या घटाउने र उनीहरूको प्रमाणीकरण गरी समितिले परिचयपत्र उपलब्ध गर्न लागेको बताइएको छ । gorkhapatraonline.com

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १२ : ०१ बजे

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कोशी प्रदेश । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा

संसद् अवरोधले नेपाली कांग्रेसलाई नै फाइदा नहुने योगेश भट्टराईको भनाई

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई

सुनको भाउ घट्यो

काठाडौं । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा

विराटनगर । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै

कोशीमा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गर्दै

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दाबी