ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९हर्क साम्पाङ० ले देशको समृद्धिका लागि भौतिक विकाससँगै चेतनाको विकास पनि अपरिहार्य रहेको बताउनुभएको छ।
आइतबार ताप्लेजुङको फुङ्लिङमा आयोजित श्रमदाता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले नेपालीहरू कृषकका सन्तान भएकाले खेतीपाती जीवनको आधार भएको उल्लेख गर्दै अब ‘चेतनाको खेती’ पनि समान रूपमा आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले समाजमा सकारात्मक सोच, जिम्मेवारीबोध र सहकार्यको संस्कार विकास नगरी समृद्ध राष्ट्र निर्माण सम्भव नहुने बताउनुभयो।
उहाँले विकासका लागि सरकारको मात्र भर पर्न नहुने भन्दै स्थानीय तह, प्रदेश वा संघीय सरकारले काम गर्ला भनेर निष्क्रिय बस्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले बजेट विनियोजन गरेपछि मात्र विकास हुन्छ भन्ने मानसिकता त्यागेर समुदाय आफैं श्रमदानमार्फत विकासका काममा जुट्नुपर्ने उहाँको भनाइ थियो ।
श्रम, संस्कृति पार्टीको मूल उद्देश्य सामूहिक श्रम र सहकार्यको संस्कृतिलाई विस्तार गर्नु रहेको उल्लेख गर्दै अध्यक्ष साम्पाङले सबै नागरिकको सहभागिता र श्रमदानबाट मात्र देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो। उहाँले स्थानीय तहमा रहेका गरिब, विपन्न, असहाय तथा उत्पीडित समुदायको सहयोगमा सबै नागरिक अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
घर, बाटो, कुलो तथा अन्य सार्वजनिक संरचनामा क्षति पुगेमा सरकारको प्रतीक्षा नगरी समुदाय एकजुट भएर मर्मत तथा पुनर्निर्माणमा जुट्नुपर्ने उहाँको आग्रह थियो। श्रमदानले विकासका कामलाई गति दिनुका साथै सामाजिक एकता र आपसी सद्भावलाई समेत बलियो बनाउने उहाँले बताउनुभयो ।
अध्यक्ष साम्पाङ श्रमदाता भेटघाट कार्यक्रममा सहभागी हुन तथा पाथीभरा (मुकुम्लुङ) क्षेत्रको दर्शनका लागि शनिबार ताप्लेजुङ आइपुग्नुभएको हो ।






प्रतिक्रिया