साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपको दोस्रो दिन एक लाख ३५ हजार १०० रुपैयाँको टिकट बिक्री भएको छ । लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङले आफ्नो अफिसियल फेसबुक पेजमा सार्वजनिक गरेको विवरण अनुसार आज एक हजार ३५१ जनाले टिक काटेर मैदान प्रवेश गरेका हुन् ।
हिजो पहिलो दिन २ लाख २० हजार रुपैयाँको टिकट बिक्री भएको छ । हिजोको तुलनामा आज झण्डै आधा कम टिकट बिक्री भएको हो । आज पाँचथर फुटबल क्लब पाँचथर र सलहेस युवा क्लब सिरहाबीच खेल सञ्चालन भएको थियो । जसमा पाँचथर फुटबल क्लब सलहेस युवा क्लब सँग १-० गोलको अन्तरले पराजित भएको छ ।
लाखेजात्राको अबसरमा सञ्चालन हुँदै आएको गोल्डकपमा गतवर्षदेखि हरेक दिन टिकट बिक्रीबाट प्राप्त भएको रकमको विवरण सार्वजनिक गर्न थालिएको छ । सोही अनुसार यसवर्ष पनि समितिले टिकट बिक्रीबाट प्राप्त भएको रकम हरेक दिन सार्वजनिक गर्ने प्रतिबद्धता अनुसार नै विवरण सामाजिक गरिएको आयोजकले जनाएको छ ।
क्वार्टरफाईनलका ४ ओटा खेलका लागि एक सय रुपैयाँ, सेमिफाइनलका लागि दुई सय रुपैयाँ र फाइनल खेलका लागि २ सय ५० रुपैयाँ टिकट दर समितिले निर्धारण गरेको छ । दर्शकका सुविधाका लागि करिब ७ लाख बढी रकम खर्चेर बाँसको अस्थायी प्याराफिट समेत निर्माण गरेको छ ।
खेल अवलोकन गर्नका लागि बालबालिका, वृद्धवृद्धा तथा फरक क्षमता भएकाहरूलाई भने प्रवेश निःशुल्क गरिएको छ । अन्य दर्शकको हकमा भने टिकट काटेर मात्रै मैदानमा प्रबेश गरिदिन समितिले आग्रह गर्दै आइरहेको छ ।
प्रतिक्रिया