ताप्लेजुङको पाथीभरा क्षेत्रमा भरियाको काम गर्दै आएकाहरूको प्रमाणीकरण गरिने



ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा भरियाको काम गर्दै आएकाहरूको प्रमाणीकरण गरिने भएको छ । पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको सहजताका लागि भरिया अर्थात् सशुल्क स्वयंसेवकको काम गर्दैआएका जनशक्तिको प्रमाणीकरण गरिने भएको हो ।

पाथीभराको दर्शनलाई थप व्यवस्थित र सहज बनाउने उद्देश्यले भरियाको प्रमाणीकरण गर्न लागिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भरियाको सुविधा लिन चाहने तीर्थयात्रीको सहजताका लागि भरियाको प्रमाणीकरण गरिने भएको हो ।

प्रमाणीकरण भएका भरियामार्फत तीर्थयात्रीले सुविधा लिएमा मात्र उनीहरूको यात्रा सहज र भरपर्दो हुने निष्कर्षसहित समितिको बैठकले भरियाको प्रमाणीकरण गर्नुपर्ने निर्णय गरेको हाङ्बाङले जानकारी दिनुभयो । समितिको निर्णयअनुसार १०० जना भरिया प्रमाणीकरण गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

भरियाका लागि पाथीभरा क्षेत्रअन्तर्गत फुङलिङ नगरपालिका –१० फुरुम्बु, वडा ११ फावाखोला, फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिम, वडा ५ तापेथोक र सिरिजङ्घा गाउँपालिका –३ सिकैँचाका बासिन्दालाई प्राथमिकता दिने समितिले जनाएको छ । प्रमाणीकरण भएका जनशक्तिलाई समितिले परिचयपत्र उपलब्ध गराउने र उनीहरूले मात्र भरियाको काम गर्न पाउने बताइएको छ ।

भरियाको काम गर्न प्रमाणीकरण हुनलाई करिब ३०० जनाले आवेदन दिएका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अहिले पाथीभरा दर्शन गर्ने सिजन (मौसम) भएकाले प्रमाणीकरणको काम तत्कालका लागि स्थगित गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो । पाथीभरा दर्शनको मुख्य सिजन सकिएपछि समितिको कार्यविधिअनुसार भरियाको काम गर्ने जनशक्तिको प्रमाणीकरण गरी परिचयपत्र उपलब्ध गराइने उहाँको भनाइ छ ।

हाल पाथीभरा क्षेत्रमा करिब ३०० बढी जनशक्तिले भरियाको काम गर्दैआएका बताइएको छ । सो जनशक्तिले काफ्लेपाटीदेखि तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा धामसम्म भरियाको काम गर्दैआएका छन् । उनीहरूले तीर्थयात्रीको सामानदेखि पदयात्रा गर्न (हिँड्न) नसक्ने तीर्थयात्रीलाई बोकेर भरियाको सुविधा दिने गरेका छन् । विभिन्न सामान वा तीर्थयात्रीलाई बोकेर भरिया सुविधा दिएबापत प्रतिकिलोग्राम १०० रुपियाँ एकतर्फी भाडा लिने गर्दछन् ।

यता भरिया काम गर्ने जनशक्तिको सङ्ख्या धेरै भएपछि भरियाको सुविधा दिनमा कुनैबेला अस्वच्छ प्रतिस्पर्धा हुने गरेको जनगुनासो आएकाले पनि प्रमाणीकरण गर्न लागेको समितिले जनाएको छ । अस्वच्छ प्रतिस्पर्धाका कारण तीर्थयात्रीको यात्रा असहज र जोखिम हुनेतर्फ ध्यान दिँदै भरियाको काम गर्नेको सङ्ख्या घटाउने र उनीहरूको प्रमाणीकरण गरी समितिले परिचयपत्र उपलब्ध गर्न लागेको बताइएको छ । gorkhapatraonline.com

प्रकाशित मिति : 12:01 pm

नेपाल भाषा तथा सांस्कृतिक समाज मनायो नेपाल सम्वत्

सौगात विष्ट ताप्लेजुङ, कात्तिक ५ गते । नेपाल भाषा तथा

पाथीभरामा कार्तिक ८ गते पुजा आराधाना सहित वृहत सरसफाई कार्यक्रम हुने

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिती र फुङलिङ नगरपालिकाको

फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल