ताप्लेजुङ । चौथो मेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधि वसन्त र प्रेमको जोडीले जितेका छन् । सिनियर डबल्स तर्फ आन्द्रेश आङबोहाङ र भुपे फेम्सोहाङको जोडीलाई २१-९, २१-११ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
उनीहरूले २५ हजार नगद हात पारे भने आन्द्रेश र भुपेशको जोडिले २० हजारमा चित्त बुझाउनु पर्यो । भेट्रान्स तर्फ वसन्त कुमार गुरुङ र मानबहादुर लिम्बूको जोडीले काजिमान गुरुङ र सरोज लिम्बू को जोडीलाई पराजित गर्दै उपाधि जिते ।
जुनियर तर्फ केशव पौडेल र शिव काम्बाङको जोडीले दक्ष लिम्बू र वसन्त तामाङको जोडीलाई २-१ को खेलमा पराजित गरे । मिक्स डबल्स तर्फ भावनादेवी केदेम र आन्द्रेश लिम्बूको टिमले सरुना गुरुङ र प्रेम माबोको टिमलाई सोझो सेटमा पराजित गरे ।
कर्मचारी तर्फ गजेन्द्र थलङ र विकास तामाङको जोडिले २-१ को अन्तरमा विकास थेवे र पविन्द्र लिम्बूको जोडीलाई पराजित गर्दै उपाधि जिते । फुङलिङ नगरपालिका को सहयोगमा सञ्चालित प्रतियोगिता मा सुमन घतानी उत्कृष्ट र सुरज मादेन अनुशासित खेलाडीको रुपमा पुरस्कृत भए ।
आइतबार सम्पन्न प्रतियोगिता विहीबार सुरु भएको हो ।
प्रतिक्रिया