ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार सम्पन्न भएको छ । पालिकाको केन्द्र थेचम्बुस्थित पाथीभरा ब्याडमिन्टन हलमा गत फाल्गुन २७ गतेबाट सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
प्रतियोगिताको मिक्स डबल तर्फको उपाधि फुङ्लिङ नगरपालिकाका प्रेम मबो र भावना देवी केदेमले जितेका छन् । उनीहरूले पाथीभरा याङवरकका लासाङ तामाङ र शिव कुमार काम्बाङको टिमलाई हराएका हुन् । उक्त विधामा विजेता तथा उपविजेताले क्रमश: ट्रफी मेडल र प्रमाण पत्रसहित नगद रु १५ हजार र १० हजार प्राप्त गरेकाछन् ।
मेन्स डबल (४५ वर्ष माथि)को विधामा गणेश बहादुर राई र दीपक आङ्देम्वे पाँचथरको टोलीले जित हासिल गरेको छ । ताप्लेजुङका सन्तोष चोङवाङ र गजेन्द्र थलङको टिमलाई फाइनल खेलमा पराजित गर्दै उनीहरूले उपाधि कब्जा गरेका हुन् । उक्त खेलका विजेता र उपविजेताले क्रमशः ट्रफी, मेडल र प्रमाणसहित नगद रु २० हजार र १५ हजार प्राप्त गरे ।
मेन्स डबल स्थानीय तह तर्फको उपाधि अजय ईजम र लक्ष्य लिम्बूको पोल्टामा परेको छ । फाइनलमा रितेश वि. क. र दिप्शन लिम्बूको टिमलाई पराजित गरेका उनीहरूले ट्रफि मेडल र प्रमाण पत्रसहित नगद ५ हजार प्राप्त गरेका छन् । उप विजेता टोलीले ट्रफी मेडल र प्रमाण पत्रसहित नगद ३ हजार रुपैयाँमा चित्त बुझायो ।
मेन्स डबल जुनियर ‘बी’ तर्फको खेलमा भने फुङ्लिङका सोजित श्रेष्ठ र किशोर राईको टिमले मेरिङ्देन गाउँपालिकाका विकास तामाङ र देउ प्रसाद लिम्बुको टिम विरुद्ध जित निकाल्यो । जित सँगै उक्त टोलीले ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद रु १५ हजार पाउँदा दोस्रो हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु १० हजार प्राप्त गरेको छ ।
बुधवार नै सम्पन्न सरकारी कर्मचारी डबल तर्फको विधामा पाथीभरा याङवरक गाउँपालिकाका शिव कुमार काम्वाङ र केशव पौड्यालको टिमले मिक्वाखोला गाउँपालिकाका गजेन्द्र थलङको टिमलाई हराउँदै च्याम्पियन बनेको छ । उक्त विधाको प्रतिस्पर्धामा प्रथम र दोस्रोले क्रमश: ट्रफी मेडल र प्रमाण पत्रसहित नगद रु २० हजार र १५ हजार प्राप्त गरे ।
मेन्स डबल सिनियर तर्फको उपाधि भने तेह्रथुमका नवीन सिलवाल र विवेक कन्दङवाको जोडीले हात पारेको छ । पाँचथरका दीपक आङदेम्बे र दिवस संखरको जोडीलाई हराउँदै उपाधि जितेको हो । उक्त विधा तर्फ प्रथम र दोस्रो हुनेले क्रमश: ट्रफी मेडल र प्रमाणपत्र सहित नगद रु ३० हजार र २० हजार प्राप्त गरे ।
प्रतियोगितामा विभिन्न विद्यालयका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको समापन समारोहमा गाउँपालिका प्रमुख केशर कुमार मेन्याङ्बो, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरे ,जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघक लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया