डाक्टर सन्दुक रुईतले गृह जिल्लामा गरे १५४ जनाको मोतियाविन्दुको शल्यक्रिया



रेडियो काबेली
ताप्लेजुङ ।
गृह जिल्ला ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले १५४ जना आँखाका बिरामीको शल्यक्रिया गर्नु भएको छ । फाल्गुन १६,१७ र १८ गरेर तिन दिन डिचेन डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङमा भएको निशुल्क शिविरमा उक्त संख्याका बिरामीहरुको डाक्टर रुईत नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोलीले शल्यक्रिया गरेको हो ।

बिहीबार १ सय २ र शुक्रवार ५२ जनाको शल्यकृया गरेको आयोजक नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ । शिविरमा १ हजार २ सय ८१ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् । शिविरमा आउनका लागि ७ सय ८१ महिला र ५ सय ४६ पुरुष गरी १ हजार ३ सय २७ जनाले नाम दर्ता गराएकामा ४६ जना भने सम्पर्क नआएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।
नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार शिविरको पहिलो दिन बुधवार ६ सय ८१,दोस्रो दिन बिहीबार ४ सय ५६ र तेस्रो तथा अन्तिम दिन शुक्रवार १ सय ९० जनाले नाम दर्ता गराएका थिए । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन संगको सहकार्यमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यकृया सहितको आँखा शिविर सञ्चालन गरेको हो ।

नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार शिविरमा विगत दुईबर्ष देखि दुबै आँखा बन्द भएका पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ का बमप्रसाद योङहाङका दुबै आँखाको शल्यकृया गरिएको छ । तिलगंगाको टोलीले फ्याको सर्जरी विधिद्धारा पनि आँखाको शल्यकृया गरेको थियो । मोतियाबिन्दुको आँखाको शल्यकृया गर्दा नयाँ र कम्युटराईज प्रविधिद्धारा गरिने शल्यकृयालाई फ्याको सर्जरी भनिन्छ ।

शिविरमा बोल्दै डाक्टर रुईतले आफ्नो गृह जिल्लामा आएर सेवा गर्न पाउँदा खुसी लागेको बताउनु भयो । डाक्टर रुईतले भने “आफ्नो गृह जिल्लामा काम गर्न पाउँदा असाध्य खुसी लाग्छ । यहाँको अन्धोपन स्थिती धेरै छ त्यसको लागि अझैपनि हामीले धेरै गर्नु छ । मुख्यतया विकटताले गर्दा धेरै बिरामीहरु पहुँच भन्दा बाहिर छन् । पाँच वर्ष लाग्ला तर म फेरि पनि आउनेछु जिल्लाको अन्धोपन हटाउन काम गर्नेछु ।”

नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङका अनुसार यसअघि फागुन १३ गते मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुको परीक्षणका क्रममा २० तथा १४ गते मिक्वाखालाको खोक्लिङमा गरिएको आँखा परीक्षणका क्रममा १७ जना गरी कूल ३७ जना मोतियाबिन्दुका बिरामी भेटिएका थिए । उनीहरुको पनि फुङलिङकै शिविरमार्फत आँखाको शल्यकृया गरिएको गुरुङले जानकारी दिनुभयो । डाक्टर रुईत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएको हो ।

प्रकाशित मिति : 1:05 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र