ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कार्यालयभित्रै ई–पासपोर्ट फारम निशुल्क भर्न सुरु गरेको छ। सेवाग्राहीको कामकाजमा सहजीकरण गर्ने उदेश्यले ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था आज बाट सुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिचौलिया अन्त्य गर्नका लागि ई–पासपोर्टको फाराम निःशुल्क भर्ने व्यवस्था सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क बहादुर भट्टराईले जानकारी दिनुभएको छ ।
ई–पासपोर्टका लागि फाराम भर्न सेवाग्राहीले पाइरहेको झन्झट र बिचौलियालाई रकम तिरेर फाराम भराउनु पर्ने बाध्यतालाई तोड्दै सेवाग्राहीलाई छिटो छरितो चुस्त बनाएर लैजाने अभियानमा लागेको भट्टराईको भनाई छ । उहाँका अनुसार कार्यालय समयभित्र आफ्नै कर्मचारीद्वारा कोठा नं. १५ मा सो फम भर्ने व्यवस्था मिलाइएको छ ।
केही दिन अघि पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेललाई पत्रकारहरुले ई–पासपोर्ट भर्दा सर्वसाधारणले दुख पाएको र बिचौलियाले प्रशासन बाहिर फर्म भर्दा तीन सय देखि त्योभन्दा माथिसम्म रकम तिर्दा ठगिएको र सास्ती समेत ब्यहोर्नु परेको गुनासो आउने गरेको जानकारी गराएका थिए ।
प्रतिक्रिया